अन्सारीको हत्याले गम्भीर बनाएको छः गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुनसरीका खुर्शिद अन्सारीको हत्याले सरकारलाई गम्भीर बनाएको बताएका छन् । विहीबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न आएका नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधीहरुसँग गृहमन्त्री थापाले अन्सारीको हत्या घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका हुन् । गृहमन्त्री थापाले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे।
भेटमा उनले भने, ‘यो घटनालाई मैले गम्भीर रुपमा लिएको छु, अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्याईछाड्छौं।’ उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रष्ट पारे। उनले मृतकका आफन्त तथा स्थानीयहलाई संयमित हुन समेत आग्रह गरेका छन् ।
गृहमन्त्रीसँगको भेटमा नेपाल मुस्लिम इत्तेहाद संगठनले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षहरु देखि भईरहेका आक्रमणकै श्रृंखलाको रुपमा अन्सारीको पनि हत्या भएको बताए । उनीहरुले मुस्लिम समुदायका अगुवामाथि लगातार आक्रमण हुँदै आएको भन्दै दोषीलाई तत्काल पक्राउ गनुपर्ने बताए। उनीहरुले मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भिर हुनुपर्नेमा समेत जोड दिएका थिए ।
बिहीबार बिहान सुनसरीको भुताहामा नेकपाका जिल्ला नेता तथा स्थानीय एउटा बोर्डिङका संस्थापक मौलाना खुर्सिद अन्सारीमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेर भारतीय सीमातर्फ भाग्न सफल भएका थिए ।
बिहान साढे १० बजे स्थानीय चियापसलमा चिया खाएर घर फर्कँदै गरेका अन्सारीमाथि भारतीय नम्बर प्लेटमा आएका हत्याराहरुले गोली हानी हत्या गरेका हुन् ।
प्रतिकृया दिनुहोस