जोशीविरुद्ध महाअभियागको तयारी, देव गुरुङले थाले हस्ताक्षर संकलन अभियान
काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता हुने भएको छ ।
जोशीलाई महाअभियोग लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सांसदहरुको हस्ताक्षर संकलन थालेका छन् । त्यसको नेतृत्व देव गुरुङले गरेका छन् ।
प्रतिनिधिसभाका २५ प्रतिशत सदस्यले महाअभियोग प्रस्ताव दर्ता गराउन सक्छन् । सत्तारुढ नेकपा गठबन्धनसँग महाअभियोग पारित गराउने दुई तिहाई बहुमत संसदमा छ । नेकपाले महाअभियोग लगाउन खोजे दुई तिहाई मत पुग्छ ।
नयाँ प्रधानन्यायाधीश नियुक्तिसँगै सर्वोच्च फर्किएका जोशीले राजीनामा दिने बचन तोडेको नेकपाको आरोप छ । आफ्नो बचन तोडेर जोशीले नेकपालाई अप्ठ्यारोमा पारेको भन्दै महाअभियोगको तयारी सुरु भएको हो ।
नेकपाका प्रमुख सचेतक देव गुरुङले सांसदहरुलाई संसदको शंकर हलमा बोलाउँदै खाली कागजमा हस्ताक्षर गराएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किए लगतै संसदीय दलका उपनेता सुवास नेम्वाङले परामर्श गरेका थिए । त्यसलगतै हस्ताक्षर संकलन सुरु भएको हो ।
सर्वोच्च फर्किनुअघि कानुनमन्त्री भानुभक्त ढकाललाई भेटे गरेर जोशीले एकाध मुद्दा हेरेपछि राजीनामा दिने बताएका थिए । तर जोशीले राजीनामा नदिने संकेत दिएपछि नेकपाले महाअिभयोग लगाउने तयारी गरेको हो ।
प्रतिकृया दिनुहोस