किन यसरी गायब बनाइयो निसान छापको नक्सामै कालापानी ?

Nepal mapma kalapani

काठमाडौं । सरकारले नै बनाएको छापमा निसान छापमा नक्सा गायब बनाइयो भन्ने सुन्दा अचम्म mलाग्छ । तर, यो सत्य हो की सरकारले प्रयोग गर्दै आएको निसान छापमा नेपालको नक्सामा कालापानी नै गायव बनाइएको छ ।

नेपालमा एउटा कम्युनिस्ट पार्टीमध्ये सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पूर्व घटक एमाआवादी र एमालेले कुनै बेला कालापानी सीमानामा रहेका भारतीय सेना हटाउन आन्दोलन गरेका थिए ।

यतिसम्म की कालापानी नेपालको भुभाग हो भनेर सडक आन्दोलन नै गरेका थिए । तर, अहिले त्यही पार्टीको सरकार छ । तर, दुर्भाग्य त्यही सरकारले प्रयोग गर्दै आएको निसान छापमा नै कालापानीको नक्सा गायब बनाएर चलाइरहेको पाइएको छ ।

अधिकांश सरकारी कार्यालय, मन्त्रालयका टागिएका बोर्डमा रहेका निसान छापमा कालापानी गायब छन् । धेरै जसो विद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्थाहरुले गतल नक्सा नै प्रयोग गरिरहेका छन् ।

हेलो सरकार, गृहमन्त्रालय, परराष्ट्र मन्त्रालयको ट्वीटर, त्रिभुवन विमानस्थल, सडक विभाग लगायत अधिकांश सरकारी कार्यालयमा प्रयोग भएका निशान छापमा कालापानी गायब गरेको नक्सा प्रयोग गरिएको छ । ६ हजार हेक्टर घटाएर बनाइएका नक्सा जताजतै प्रयोग भएका छन् ।

नक्सा बनाउने र प्रकाशित गर्ने आधिकारिक निकाय नापी विभाग मात्रै हो । विभागको अनुमति वेगर कसैले पनि नक्सा बनाउन र प्रकाशन गर्न पाउँदैन । तर बजारमा मनपरी रुपमा नक्सा बनाउने काम भइरहेको छ । धेरै जसो नक्साहरु भारतमा बनेर आउने गरेका छन् ।

भारतमा नै बनेर आएका नक्सा मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयले समेत प्रयोग गरिरहेका छन् । भारतमा बनेका सबै नक्सामा कालपानीलाई हटाइएको छ । बजारमा भारतमा बनेका नक्साको प्रयोग भइरहेपनि त्यसलाई नियन्त्रणतर्फ कसैको ध्यान भएको छैन ।

अन्ततः विभागीय मन्त्रीले पनि सरकारी निकायले देशको त्रुटिपूर्ण नक्सा प्रयोग गर्दै आएको स्वीकारेकी छन् । भारतीय नक्सा प्रयोगका कारण यस्तो समस्या आएको उल्लेख गर्दै उनले तत्काल फेरिने बताइन् । नक्सा बनाउने आधिकारिक मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले यसमा आफ्नो मन्त्रालय जिम्मेवार नरहेको दाबी गरिन् ।

‘अनाधिकृत रुपमा भारतमा छापिएर नक्सा आउने गरेका कारण निसान छापमा कालापानी गायब भएको हो’, उनले भनिन्, ‘हो, हाम्रा मन्त्रालयहरुले समेत भारतीय नक्सा प्रयोग गरिरहेका छन् । यसको व्यापक दुरुपयोग भइरहेको छ । हाम्रा मन्त्रालय नै अचम्मका छन्, अनधिकृत नक्सा प्रयोग गर्छन् ।’ उनले सरकारको नक्सा छाप्ने अधिकारिक निकाय नापी विभागका नक्सा भने गलत नभएको बताइन ।

प्रतिकृया दिनुहोस