पत्रकार विरुद्धका प्रावधान नहटाए आन्दोलनमा जाने पत्रकार महासंघको चेतावनी

Fnj nepal

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल नहटाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संयुक्त राष्ट्र संघको घोषणा पत्र र संविधानकै प्रतिकूल हुनेगरी नयाँ मुलुकी ऐनमा पत्रकारहरुलाई जेल सजाय दिनेलगायतका सय भन्दा बढी प्रावधान राखिएकाले यसलाई सच्याउन आफूहरुले सरकारलाई दवाव दिनु परेको पनि स्पष्ट पारे ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पत्रकारहरुले गल्ती गरे क्षतिपूर्ति दिने कानुनी व्यवस्था गर्दा फरक नपर्ने पनि स्मरण गराए ।

महासंघले पत्रकारहरुलाई जेल सजाय दिने प्रावधानसहितको नयाँ मुलुकी ऐनले नागरिक अधिकारलाई समेत हनन् गरेको दावी गर्दै त्यसलाई सच्याउन सरकार र सम्बन्धित निकायलाई आग्रह गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसी र प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले संविधानको समेत प्रतिकूल हुने गरी पत्रकारहरुलाई सजाय दिने कानुनी व्यवस्थासहित आएको नयाँ मुलुकी ऐन संशोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस