सँगै हुँदा पनि बोलेनन् पारस र हिमानी, मात्रै मुस्कुराए

Himani paras

गोरखा । पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह एउटै मन्चमा थिए । सँगै पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंह, धिरेन्द्रकी छोरी दिलासा र सितास्मा शाह पनि थिए ।

दुर्लभ संयोग नै माननुपर्छ, पूर्वराजपरिवारका सदस्यहरुलाई औपचारिक कार्यक्रममा आजभोलि बिरलै देख्न पाइन्छ । तर, बिहीबार गोरखाको पालुङटार नगरपालिका –५ ठाटीपोखरीमा पूर्वराजपरिवारका अधिकांश सदस्यहरु एकै साथ देखिए ।

पूर्वरानी कोमल र युवराज्ञी हिमानी बुधवार नै मुग्लिङ आएर बसेका थिए । तर पूर्व युवराज पारससहित पूर्वराजपरिवारका केही सदस्यहरु भने फिस्टेल हेलिकप्टरबाट बिहीबार बिहान पालुङटार पुगेका थिए ।

लामो समयपछि पारस शाह र हिमानीलाई एउटै मन्चमा सँगै देख्दा कार्यक्रमका सहभागीहरु दंग थिए । दुईजना बीचको सम्बन्ध चिसिएको हल्ला सुनेका उनीहरु पारस र हिमानी बीच बोलचाल हुन्छ वा हुँदैन भन्दै नियाली रहेका थिए । तर, मञ्चमा उनीहरुबीच कुराकानी भने भएन ।

रिवन काटेर भवनको उदघाटनपछि भवनका कोठाहरु निरीक्षण गर्नतर्फ उनीहरु व्यस्त भए । निरीक्षणकै क्रममा एक्कासी पारस र हिमानी एक अर्कालाई हेरेर मुस्कुराए । अनि केही वार्तालाप गरेजस्तो पनि गरे ।

हिमानी ट्रष्ट र बुद्धिष्ट अर्गनाइजेशन जोडो सुद्वारा निर्मित भवानी माध्यामिक विद्यालयको भवन उदघाटन कार्यक्रममा सहभागी हुन उनीहरु पालुङटारको ठाटीपोखरी आएका थिए ।

बिहान करिब ८ बजे नैै पालुङटार आइपुगेका पारसले स्थानीयहरुसँग भेटघाट र अन्तरक्रिया गर्नसमेत भ्याए । पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीको आगमनपछि भवन उदघाटनको औपचारिक कार्यक्रममा सहभागी हुन उनीहरु विद्यालयमा पुगेका थिए ।

४ करोडमा ८ कोठे भवन
भूकम्पले भवन क्षती पुगेपछि सो विद्यालयमा कुल ४ करोड ९५ लाखको लागतमा आठ कोठे नयाँ भवन निर्माण गरिएको हो । सो भवनको २०७३ मंसिर १९ गते शिलन्यास गरिएको थियो ।

टहरामा कक्षा संचालन गर्दे आएको विद्यालयलाई भवन बनेसँगै पठनपाठनमा सहज हुने प्रधानाध्यापक ओझराज गिरीले बताए । उनीहरुबाट थप आठ कोठे नयाँ भवन निर्माण गरिदिने सम्झौता भएको उनले बताए ।

प्रतिकृया दिनुहोस