अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्तमा घिमिरे सिफारीस

Nabin kumar ghimire

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाडै अध्यक्ष पाउने भएको छ । बुधबार बसेको संवैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेसँगै आयोगले चाडै अध्यक्ष पाउने भएको हो ।

घिमिरे गत फागुनदेखि आयोगको कार्यबाहक प्रमुख थिए । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात गत माघ मसान्तमा सेवानिवृत्त भएयता अख्तियार नेतृत्वविहीन थियो ।

राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख आयुक्त र आयुक्तको नियुक्ति गर्ने र उनीहरूको पदावधि नियुक्तिको मितिले ६ वर्षको हुने व्यवस्था छ । संघीय कानून बमोजिम संसदीय सुनुवाई भएपछि सिफारिस भएका पदाधिकारी राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

नेपालको संविधानको धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र अन्य चार जना आयुक्तहरू रहने व्यवस्था छ । प्रमुख आयुक्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष भई काम गर्ने संवैधानिक व्यवस्था छ ।

वि.सं २०१२ भदौ २९ मा जन्मेका घिमिरे २०३५ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । उनले विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । विभिन्न सार्वजनिक निकायको नेतृत्व गरेका उनी मन्त्रालयहरूमा सचिव भएर काम गरेका छन् ।

प्रतिकृया दिनुहोस