अब बिदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउने

Sarbochha adalat 826x495

काठमाडौं । लामो समयदेखि विदेशमा रहेका नेपालीलाई मतदानको सुविधा उपलब्ध गराउनुपर्ने आवाज उठिरहेका बेला सर्वोच्च अदालतले विदेशमा रहेका मतदातालाई मतदानको व्यवस्था गर्न आदेश दिएको छ ।

सर्वाेच्चले मतदाताले विदेशी नागरिकता त्यागेको हुनुपर्ने उल्लेख गरेको छ । फैसलामा आगामी निर्वाचनसम्म सबै प्रक्रिया पूरा गरेर यो व्यवस्था गर्न आदेश दिइएको छ ।

‘विदेशमा रहेका नागरिकहरुलाई मतदानमा भाग लिन सक्ने अवस्थाको सिर्जना गर्ने प्रयोजनार्थ विदेशमा रहेका नागरिकहरुको वास्तविक लगत संकलन गर्न दर्ता प्रक्रिया अविलम्व शुरु गरि आउदो निर्वाचन सम्ममा विदेशमा रहेका नेपाली नागरिकहरुले मतदानमा सहभागी हुन सक्ने वातावरण मिलाउनू’, आदेशमा थप भनिएको छ।

अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गरेको फैसलामा विदेशमा बस्ने नेपालीलाई मतदानको सुनिश्चिता गर्न सरकारलाई आदेश दिएको छ ।

अधिवक्ता राईले तत्काल विदेशमा रहेका मतदातालाई मतदानको अधिकार माग गरे पनि फैसलामा प्रक्रिया पुर्याएर मतदानको व्यवस्था गर्न भनिएको छ ।

अधिवक्ता राईले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार, व्यवस्थापिका संसद, व्यवस्थापिका संसद सचिवालय, परराष्ट्र, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, गृह मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाएका थिए ।

‘मतदान गर्ने अधिकार नागरिकको सार्वभौम अधिकार निहित मौलिक एवं प्रजातान्त्रिक अधिकार भएकोले सो अधिकार उपभोग गर्ने गराउने प्रयोजनार्थ आवश्यक विधि निर्माण गर्ने दायित्व विधायिकाको भएकोले सोको प्रयोजनार्थ जो चाहिने आवश्यक व्यवस्था सहितको कानून निर्माणको लागी अविलम्व संसद समक्ष विधायिकि प्रक्रिया पुरा गरी विधेयक प्रस्तुत गर्नको लागी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नाममा आदेश जारी गरिदिएको छ,’ फैसलामा भनिएको छ ।

प्रतिकृया दिनुहोस