यस वर्षको सेनानी सम्मान पुरस्कार कोमामा रहेका बास्तोलालाई

Chakra prasad bastola

काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘सेनानी सम्मान पुरस्कार’ चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने भएको छ ।

नेपाली काँग्रेसका नेता बास्तोलालाई प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पु¥याएवापत ५० हजार राशिको सो पुरस्कार प्रदान गरिने भएको हो । बास्तोला करीव पाँच वर्षदेखि अचेत अवस्थामा घरमै उपचार गराइरहेका छन् ।

ट्रष्टले यस वर्षको ‘बीपी साहित्य सम्मान पुरस्कार’ भने वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशी एक लाख एक हजारको छ ।

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा. धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिश समितिले बास्तोला र घिमिरेलाई सम्मानित गर्ने निर्णय गरेको हो ।

उनीलाई बीपी जयन्तीका अवसरमा बीपी यही भदौ २२ गते काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताए ।

अघिल्लो वर्ष भने सेनानी सम्मान पुरस्कार दाङका तीर्थराज चैतु र बीपी साहित्य सम्मान पुरस्कार साहित्यकार प्रा.डा. अभि सुवेदीलाई प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस