निर्मला पन्तको घरमा बिना मगरको आँखाबाट यसरी खस्यो बरर आँसु

Bina magar kanchanpur

कञ्चनपुर । शनिबार खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुगिन् । उनी पुग्दा सबै आगन्तुक स्तब्ध भए । केहीबेर सन्नाटा छायो ।

मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा दुर्गा र आफन्तले आँसु थाम्न सकेनन् । छोरीको हत्या भएपछि स्तब्ध बनेकी दुर्गा राइरहेकी थिइन् । उनको आँखामा आँसु देख्न मन्त्री मगरका आँबाट पनि तररर आँसु खस्यो ।

त्यस्तै दृष्य थियो भीमदत्त नगरपालिका–१८ भगतपुरका १४ वर्षीय शहीद सनी खुनाको घरमा पनि । निर्मला हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै केही दिनअघि कञ्चनपुरमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १४ वर्षीय शहीद सनी खुनाको घर पुग्दा पनि मन्त्री मगरसहित सबै स्तब्ध देखिन्थे ।

मन्त्री बिना खुनाका घर पुग्दा शहीदका आमा मञ्जु खुनाले पनि आँशु बगाउन थालिन् । मन्त्री मगरसँगै निर्मलाका परिवार भेट्न प्रतिनिधिसभा सदस्य नीरु पाल पनि पुगेकी थिइन् । पालका पनि आँखा रसाइरहेका थिए ।

पन्त र खुनाका परिवारलाई भेट्न पुगेकी मन्त्री मगरले हत्यारालाई जसरी पनि कारवाहीको दायरमा ल्याएरै छाड्ने प्रतिवद्धता जनाइन् । ‘निर्मलाको जुन प्रकारले हत्या भयो, म साह्रै दुखित छु’ उनले भनिन्, ‘जतिसुकै भाग्न खोजे पनि अपराधी भाग्न सक्दैनन्, उनीहरुलाई कारवाहीको दायरामा ल्याएरै छाड्छौं ।’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय प्रशासनलाई समेत आफूले अपराध नियन्त्रण र समाजको सुरक्षामा केन्द्रीत हुन निर्देशन दिएको बताइन् ।

निर्मला पन्तका परिवार र शहीद सनी खुनाका परिवारलाई भेट्न मन्त्री मगरसँगै प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्ट, प्रदेश नं ७ का प्रदेशसभा सदस्य प्रकाश रावल र मानबहादुर सुनारसमेत गएका थिए ।

प्रतिकृया दिनुहोस