वडा सदस्यको घरमा विप्लवको झण्डा फररर !

Rolpa kabja house

रोल्पा । सरकारले वार्ताको आह्वान गरिरहेका बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पामा वडा सदस्याको घर जग्गा कब्जा गरेको छ ।

माडीगाउँपालिका –१ पेदीखोलाका वडा सदस्य हरिप्रसाद घर्तीको घरजग्गा बिहीबार दिउँसो विप्लव कार्यकर्ताले कब्जा गरेको हो । वडा सदस्य घर्तीले पेदीखोला गाउँको आसपासका विभिन्न योजनामा आर्थिक हिनामिना गरेको आरोप उनीहरुको छ ।

घरजग्गा कब्जा गर्नुअघि घर्तीसँग नेकपाका कार्यकर्ताले वडा सदस्य पदबाट राजीनामा दिनुपर्ने, गाउँकै विद्यालयलाई ७५ हजार दिनुपर्ने र सबै योजनाको खर्च सार्वजनिक गर्नुपर्ने शर्त राखेका थिए ।

विभिन्न योजनाको ४ लाख २४ हजारको हिसाबकिताब दुरुस्त देखाउन नसकेको नेकपाको आरोप छ । पेदीखोलामा निर्माण गरेको लालीगुराँस कृषक समूहको बिउ भण्डारण भवन निर्माण, भवन मर्मत, पानीपोखरी निर्माण, सिम्रीखोला कुलो मर्मत, बाख्राको खोर निर्माण, वन सफाई, ठाडोखोला खानेपानी योजना, सुन्तला पकेट क्षेत्र निर्माण लगायतका योजना खर्च पारदर्शी नभएको नेकपाका कार्यकर्ताको दाबी छ ।

विभिन्न योजनाका लागि गाउँमा आएको १८ लाख ४३ हजार ५ सयको खर्च विवरण पारदर्शिता गर्न सके मात्र घरजग्गा कब्जामुक्त गरिने नेकपाका नेता एवं माडीगाउँपालिकाका जनसत्ता प्रमुख सूर्य खड्काले बताए ।

राजीनामा दिएर गाउँपालिका पुगेका सदस्य घर्तीले गाउँ फर्किएर योजनाका खर्चमा पारदर्शिता गर्न नचाहेको र छलफलसमेत गर्न अटेरी गरेको भन्दै नेकपाको कार्यकर्ताले भदौ १४ गते दिउँसो झण्डा गाड्दै घरजग्गा कब्जा गरेका हुन् ।

कब्जा भएको घरगाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि आधा घण्टा टाढाको सडक दूरीमा पर्छ । घरमा ताला लगाई झण्डा राखेको थाहा पाएपछि प्रहरी घर्तीको घरमा पुगेको थियो ।

घरको ढोकामा लगाएको ताला र गाडिएको झण्डा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका इन्चार्ज प्रहरी निरीक्षक राजकुमार पहाडीले बताए । उनले सदस्यले कार्यालयमा जाहेरी समेत दिएको बताए ।

प्रतिकृया दिनुहोस