भिभिआईपी लिन आएको जहाज नै डेढ घण्टा आकाशमा !

Hawai jam

काठमाडौं । काठमाडौंको सडकमा त जाम हुनछ नै, नेपालीका आकास पनि उत्तिकै जाम हुने गरेको छ । यसको पछिल्लो उदाहरण हो थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चालाई लिन आएको भिभिआईपी उडानको जहाज नै डेढ घण्टा आकाशमा फन्को मार्नु ।

बिम्स्टेक सम्मेलन सकिए लगत्तै थाईल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चालाई लिन थाईल्याण्डको राजधानी बैंकबाट थाई लियोन एयरको जहाज मध्यान्ह १२ बजे उडेको थियो । सो जहाज अपरान्ह २ बजे काठमाडौंमा अवतरण गर्ने कार्यतालिका थियो ।

तर, काठमाडौंस्थित हवाई ट्राफिक जामका कारण सो जहाजले बारा र पर्साका आकाशमाथि १४ पटकसम्म फन्को मार्न बाध्य भयो । यसले नेपालको एक मात्र विमानस्थलमा हवाई ट्राफिक व्यवस्थापन गर्न निकै कठिन छ भन्ने देखाएको छ ।

भिभिआईपीको लागि भन्दै गैरसैनिक उडानका जहाजहरु होल्डमा भए पनि भिभिआईपीलाई नै लिन आएको जहाज नै १४ फन्को आकाशमा मार्नुपर्ने अवस्था आएको हो ।

भारतबाट अर्का भिआईपी राहूल गान्धीका नेपाल आएका कारण पनि केही बेर हवाई ट्राफिक व्यवस्थापन थप चुनौतिपूर्ण बनेको थियो । खासगरी बिम्सटेक सम्मेलन सकेर सबै पाहुना फर्किने भउका कारण पनि नेपाली आकासमा ट्राफिक जाम भएको थियो ।

काठमाडौंस्थित विमानस्थलबाट बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उडानको समय भएका कारण सबै जहाजहरु बाराको आकाशमाथि फन्को मारिरहेको थिए । लियाने एयरको जहाजभन्दा पहिले दिल्ली काठमाडौं उडानमा रहेको जेट एयरवेज र मलेसिया काठमाडौं उडानमा रहेको एयर एसियाका जहाजलगायतका आठ वटा जहाजहरु रहेका कारण लियोन एयरको जहाजले तत्काल अवतरण गर्ने अनुमति पाउन सकेन ।

हवाई ट्राफिक जामले काठमाडौं विमानस्थल अस्तव्यस्त मात्रै बनेन भिभिआईपीको उडानका लागि उच्च प्राथमिकता दिने निर्णय गरेको सरकारकै लागि टाउको दुखाईको विषय बन्यो । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चालाई लिन आएको भिभिआईपी उडानको जहाज नै डेढ घण्टा आकाशमा फन्को मार्न बाध्य भयो ।

 

प्रतिकृया दिनुहोस