मोदी जाने दिन राहुल गान्धी किन आउँदैछन् नेपाल ?

Rahul gandhi

काठमाडौं । भारतीय राजनीतिमा निक्कै प्रभाव पार्ने नेता हुन् राहुल गान्धी । उनले केही समयअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका बारे जे बोल्छन्, त्यो गर्दैनन् भनेर मोदीको चर्काे आलोचना गरेका थिए ।

त्यति मात्रै होइन, बिहीबार काठमाडौंको सोल्टी होटलमा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा मोदीले फेरि हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाइरहेका बेला गान्धीले मोदीमाथि गम्भीर आरोप लगाए ।

गान्धीले उनीमाथि राफेल विमान खरिद प्रकरणमा भ्रष्टाचारमा मद्दत गरेको भनी आलोचना गरेका थिए । पत्रकार सम्मेलन गरेरै मोदीको तिव्र आलोचना गरेका उनले वित्तिय मन्त्री अरुण जेट्लीले पनि सो प्रकरणमा जवाफ दिन नसकेको आरोप लगाएका थिए ।

यसकारण गान्धी आउने
भारतीय प्रधानमन्त्रीसहितका विदेशी पाहुना शुक्रबार आफ्नो देश फर्किदैछन् । विदेशी पाहुना फर्किन लागेकै दिन नेपालसम्बन्धी चासो राख्ने भारतीय नेता गान्धी काठमाडौं आउँदैछन् ।

भारतीय कांग्रेसका अध्यक्ष तथा मुख्य प्रतिपक्षी दलका नेतासमेत रहेका गान्धी राजनीतिक भेटका लागि नभई कैलाश मान सरोवरको तिर्थयात्राका क्रममा शुक्रबार काठमाडौंमा आउन लागेका हुन् ।

भारतीय दैनिक ‘द हिन्दु’ का अनुसार अप्रिलमा गुजरातमा भएको सभामा गान्धीले शिवको भक्तिका लागि मान सरोवर जाने घोषणा गरेका थिए । २०१९ को चुनावका लागि कांग्रेस र भारतीय जनता पार्टीको तिव्र स्पर्धा भइरहेको छ । त्यस क्रममा एकले अर्कालाई देखाउनकै लागि भए पनि नेताहरू वचन पूरा गर्ने दौडमा छन् ।

प्रतिकृया दिनुहोस