रोशनीको यस्तो आयो बयान, साइकलको चेन फुत्केपछि लगाउँदा यस्तो भयो

Nirmala panta praddarsan

महेन्द्रनगर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाले सबैको ध्यान तानेको छ । गृहमन्त्री रामबहादुर थापाले पनि सो घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न निर्देशन पनि दिइसकेका छन् ।

तर, सो काण्डमा अनुसन्धानका लागि प्रहरी थुनामा रहेकी रोशनी बमले आरोप इन्कार गरेकी छन् । थुनामा राखेर थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्न लैजानुअघि जिल्ला सरकारी कार्यालयमा उनीसँग लिइएको बयानका क्रममा रोशनीले आरोप इन्कार गरेकी हुन् ।

सरकारी वकिल कार्यालयमा जिल्ला न्यायाधिवक्ता समेतको उपस्थितिमा उनको बयानमा ‘घरमा पुग्दा निर्मलाको हातमा कालो लागेको थियो, के भयो भनेर सोध्दा साइकलको चेन फुत्केपछि लगाउँदा यस्तो भएको भनी’ रोशनीले बयानमा उल्लेख गरेकी छन् ।

रोशनीले आफूहरूमाथि लागेका सबै आरोप इन्कार गर्दै घटनामा दुवै दिदीबहिनीको कुनै संलग्नता नरहेको बताएकी छन् । ‘निर्मला बिहान ११ बजेतिर आफ्नो घरमा आएको र दिउँसो सवा २ बजे घर गएँ भन्दै निस्केको हो’, उनले बयानमा भनेकी छन् । निर्मला र आफू घरको तल्लो तलाको कोठामा बसेर गृहकार्य गरेको र जाँदा अहिले घर निस्केँ, बेलुका भाँसी घर जान्छु भन्दै गएको उनले आफ्नो बयानमा उल्लेख गरेकी छन् ।

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न घरदेखि हिँडेकी १३ वर्षीया निर्मलाको अर्काेदिन निम्बुखेडा खोलानजिकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले बलात्कारपछि हत्या भएको घटनामा ४१ वर्षीय दिलीपसिंह विष्टको संलग्नता रहेको ठहर गर्दै उनलाई आरोपी बनाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो ।

पक्राउ गरेको ७ दिनपछि प्रहरीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा रोशनीको बयान लिएको थियो । यसअघि पक्राउ गरेर थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेपछि प्रहरी सोधपुछ गरेको थियो । हिरासतमा अनुसन्धान क्रममा प्रहरीले आफैंले आवश्यक सोधपुक्ष र बयान लिएको थियो ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानका लागि हिरासतमा रहेका बम दिदीबहिनीलाई थुनामा राखेर अनुसन्धान गर्न थप ७ दिन म्याद थपिएको छ । यसअघि भदौ ८ गतेदेखि लागू हुने गरी ६ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान गर्न प्रहरी हिरासतमा लिइएकी रोशनी बमलाई बालमैत्री हिरासतमा राखेर मात्रै अनुसन्धान गर्न प्रहरीलाई निर्देशन जारी गरिएको छ । रोशनीको उमेर १२ वर्ष ११ महिना मात्रै छ ।

प्रतिकृया दिनुहोस