नेपाललाई लाग्यो झड्का, नेपाल युएईसँग ७८ रनले पराजित

Cricket 12

काठमाडौं । एसिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत भएको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको छ ।

एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार युएईसँग ७८ रनले हारेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको छ ।

हालै मात्र एक दिवसीय मान्यता पाएको नेपाल छनोट प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया पुगेको थियो । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको नेपाल १७६ रनमै समेटिएपछि फराकिलो हार भोग्न बाध्य भएको हो ।

दोस्रो हार आत्मसाथ गरेको नेपालका ओपनर ज्ञानेन्द्र मल्ल आज पनि चल्न सकेनन् । आज कप्तान पारस खड्का पनि जम्न सकेनन् ।

मल्लले ४ बलमा ४ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । उनी आउट भएपछि अर्का ओपनर सुवास खकुरेलले व्यक्तिगत अर्धशतक बनाए । उनी ९७ बलमा अर्धशतक पुरा गरेलगत्तै आउट भए ।

कप्तान पारस खड्का उनी २० बलमा १६ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । अघिल्लो खेलमा अर्धसतक बनाएका सागरले २० बलमा ३ रन बनाएको अवस्थामा पेभेलियन जानुपर्यो ।

युएईलाई मध्यम योगफलमा रोक्ने क्रममा सन्दीप लामिछानेले ४ विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामी र बसन्त रेग्मीले पनि समान २–२ विकेट लिए ।

टस हारेर ब्याटिङमा आएको युएईका लागि चिराग सुरीले ९१ बलको सामना गर्दै ६५ रन बनाए । त्यसैगरी आसिफ अहमेदले ४१ बलमा ४५ रनको गतिलो स्कोर खेले । नटआउट रहेका अदन मुफ्तीले पनि ४६ बलमा ५७ रनको शानदार पारी खेले ।

प्रतिकृया दिनुहोस