आज परराष्ट्र सचिवस्तरीय बैठक, के गर्ला त निर्णय ? यस्ता छन् बिमस्टेकका १४ एजेन्डा

Bimste 1

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन तयारीका क्रममा आज परराष्ट्र सचिवस्तरीय बैठक बस्दै छ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले मंगलबारको बैठकको अध्यक्षता गर्नेछन् ।

सोमबार साँझ सदस्य मुलुकका परराष्ट्र सचिव काठमाडौं आइपुगेका छन् । बैठकका लागि भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका परराष्ट्र सचिव काठमाडौं आएका छन् । उनीहरूलाई सोमबार साँझ सचिव वैरागीले रात्रिभोज दिएका छन् ।

बुधबार परराष्ट्रमन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ भने बिहीबार सम्मेलनको औपचारिक उद्घाटन हुनेछ । मंगलबार परराष्ट्र सचिवस्तरीय बैठकले तय गर्ने कार्यसूचीमाथि बुधबार परराष्ट्र मन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकको अध्यक्षता बस्ने सो बैठकले बिमस्टेक घोषणापत्रमा हस्ताक्षर गर्ने समझदारीपत्रलाई अन्तिम रूप दिनेछ ।

यस्ता छन् बिमस्टेकका १४ एजेन्डा
–नयाँदिल्लीमा मे १० र ११मा सम्पन्न भन्सार सञ्चालनसम्बन्धी कार्यदलको प्रतिवेदन ।

–ढाकामा २०१७ नोभेम्बर १३ र १४मा सम्पन्न यातायात तथा सञ्चारसम्बन्धी बिमस्टेकको दोस्रो बैठकको प्रतिवेदन ।

–नयाँदिल्लीमा २०१७ नोभेम्बर २७ र २८मा सम्पन्न बिमस्टेक कोस्टल सिपिङ एग्रिमेन्टसम्बन्धी प्रतिवेदन ।

–नयाँदिल्लीमा २०१८ अप्रिल ९ र १० मा सम्पन्न बिमस्टेक मोटर भेइकल एग्रिमेन्टको प्रतिवेदन ।

–श्रीलंकाको कोलम्बोमा २०१७ नोभेम्बर २१ र २२ मा सम्पन्न बिमस्टेक टेक्नोलोजी ट्रान्सफर फेसिलिटीसम्बन्धी विज्ञसमूहले तयार गरेको प्रतिवेदन ।

–बंगलादेशको ढाकामा २०१८ मार्च २८ बिमस्टेकका सुरक्षा प्रमुखहरूको दोस्रो बैठकले तयार गरेको प्रतिवेदन ।

–बंगलादेशको ढाकामा २०१८ अगस्ट १३ र १४मा सम्पन्न बिमस्टेकको संयुक्त कार्यदलले तयार गरेको प्रतिआतंकवाद र अन्तरदेशीय अपराधसम्बन्धी प्रतिवेदन ।

–थाइल्यान्डको चियाङ रायमा २०१७ नोभेम्बर १२ देखि १६ सम्म बसेको विज्ञसमूहको छैठौँ बैठकले तयार गरेको कृषिमा सहकार्यसम्बन्धी प्रतिवेदन ।

–गरिबी निवारणसम्बन्धी २०१७ नोभेम्बर १ मा काठमाडौंमा सम्पन्न वरिष्ठ अधिकारीहरूको बैठकले तयार गरेको प्रतिवेदन ।

–२०१८ डिसेम्बर १९ र २० मा श्रीलंकाको कोलम्बोमा गरिबी निवारणसम्बन्धी बैठकले तयार गरेको प्रतिवेदन ।

–२०१७ अक्टोबर २४ र २५ मा नयाँदिल्लीमा परम्परागत औषधिसम्बन्धी बिमस्टेक कार्यदलको पहिलो बैठकले तयार गरेको प्रतिवेदन ।

–बंगलादेशको ढाकामा २०१८ अप्रिल ५ मा बिमस्टेक संयुक्त कार्यदलको विशेष बैठकले तयार गरेको स्थायी सचिवालय स्थापनासम्बन्धी प्रतिवेदन, त्यससम्बन्धी श्रीलंकाको कोलम्बोमा २०१८ जुलाई १० को बैठकको प्रतिवेदन, सचिवालयको अनुमानित बजेट तथा गाडी खरिदसम्बन्धी मस्यौदा ।

–बिमस्टेक चौथो शिखर सम्मेलनको घोषणापत्र मस्यौदा, समझदारीपत्रमा हस्ताक्षरसम्बन्धी विषयको तयारी ।
श्रीलंकालाई अध्यक्षता हस्तान्तरण तथा अर्को सम्मेलनको मिति र स्थान ।

यस्तो छ बिमस्टेकको कार्यक्रम तालिका
परराष्ट्र मन्त्रालयका अनुसार होटल सोल्टीमा बिहीबार अपराह्न ३ बजे प्रधानमन्त्री एवं बिमस्टेक अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन् । सोही बिहान साँढे १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिमस्टेकका कार्यकारी प्रमुखहरूले सामूहिक शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि दिवाभज खाएर सम्मेलन उद्घाटनका लागि शीर्ष नेता सोल्टी होटल पुग्नेछन् ।

सो दिन प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्य दिएपछि सबै कार्यकारी प्रमुखले उद्घाटन मन्तव्य दिनेछन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ साँढे ६ बजेदेखि साँढे ९ बजेसम्म होटल हायातमा रात्रिभोज दिने कार्यक्रम छ । सो दिन सबै सदस्य मुलुकका सांस्कृतिक नाचगान प्रदर्शन हुनेछन्  ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पाहुनाको सम्मानमा होटल सोल्टीमा बिहान ९ देखि १२ बजेसम्म रिट्रिट दिनेछन् । त्यसलगत्तै बिमस्टेक काठमाडौं घोषणापत्र जारी हुनेछ । बिमस्टेक विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौता (बिमस्टेक ग्रिड इन्टर कनेक्टिभिटी सम्झौता) लगायतमा सदस्य राष्ट्रबीच हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि नेपालले बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस