रौतहट अपडेट : डुंगा दुर्घटनामा परेकाको खोजी कार्यमा कठिनाई

Dhunga rautahat

काठमाडौं । रौतहटको गौर नगरपालिका वडा नं. ४ को लालबकैया खोलामा डुंगा दुर्घटना हुँदा हराइरहेकाहरुको खोजी कार्य भइरहेको छ । तर, रातको समय भएका कारण खोजी कार्यमा कठिनाई भएको छ ।

घटना स्थलमा रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी उपरिक्षक केदार ढकाल, सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल घटनास्थलमा पुगेका छन् ।

सो खोलामा पुल निर्माण भइरहेको छ । सो डुंगामा झण्डै ४० जना सवार रहेको अनुमान गरिएको छ । तर, रातको समय भएकाले कति सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका इनिस्पिेक्टर ओम यादवले बताए ।

वेपत्ता हुनेहरुमा इसनाथ नगरपालिका वडा नं. १ र ३ का बासिन्दा छन् । उनीहरु पश्चिम रौतहटबाट फर्किदै गरेका थिए । घट्नास्थलमा ठूलो संख्यामा स्थानीय जम्मा भएका छन् । राति अन्धकार भएकाले खोजी गर्न कठिनाई भएको प्रहरीले जनाएको छ ।

बगाएको डुंगासमेत फेला परेको छैन । डुंगामा महिलाहरु पनि सवार रहेको आशंका गरिएको छ । बन्जाराहबाट सदरमुकाम गौरको टिकुलिया घाटतर्फ आउँदै गरेको डुंगा साँझ ७ बजेको समयमा लालबकैया खोलामा आएको बाढीले बगाएको हो ।  

उनीहरुको खोजी कार्यका लागि विहारतर्फका प्रहरी पनि लागेका छन् । सो खोलामा पानीको वहाव बढ्दै गएकाले तत्काल उद्धार गर्न कठिनाई भइरहेको घटनास्थलमा रहेका पत्रकार अभिमन्य पट्टेलले बताएका छन् ।

प्रतिकृया दिनुहोस