भारदहका केरा किसान निराश बन्दै

Kera

सप्तरी, सिमरा । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका किसानहरु केरा खेतीबाट विस्थापित हुन थालेका छन् ।

रसायनिक मल, प्राविधिक र किटनाशक औषधीको अभावका साथै उचित लागत अनुसारको बजार भाउ नपाउँदा केरा कृषकहरु निरुत्साहित हुन थालेका हुन् ।

कोशी नदीको बगर तथा आसपास क्षेत्रमा जिल्लाको भारदह, पोर्ताहा, मधवापुर, योगिनियाँ, हनुमाननगर, भलुवालगायतका गाउँका किसानले करिब एक हजार बिघा जमीनमा केरा खेती गर्दै आएका छन् ।

पाँच सय परिवारको गुजाराको माध्यम बनेको केरा खेती सहज मल, किटनाशक औषधी, प्राविधिकको रेखदेख र उचित बजारभाउ समेत नपाउँदा केरा खेतीबाट विस्थापित हुने अवस्था आएको केरा कृषक रामजनम यादवले दुःखेसो सुनाए ।

केरा कृषक राधेश्याम दासले शुरुमा केही किसानले थालेको केरा खेती अहिले सघन रुपमा हुँदै आए पनि सरकारी स्तरबाट आफूहरुले कुनै सुविधा नपाएको बताए । उन्ले भने ‘प्रदेश नम्बर २ को ब्राण्डको रुपमा भारदहको केरा खेतीलाई स्थापित गर्न सकिन्छ तर यसतर्फ अहिलेसम्म कुनै पहल भएको छैन ।

अत्यधिक मेहनतका बावजुद पनि उत्पादित केराले उचित मूल्य पाउने अवस्था नरहेकोले केरा खेतीमा लागेका युवाहरु विस्तारै निराश भएर वैदेशिक रोजगारीमा जान थालेको स्थानीय राजु शर्माले बताए । केरा खेतीलाई प्रोत्साहन गर्नुका साथै बजार व्यवस्थापनमा ध्यान दिए सप्तरी जिल्लाको मात्र नभई प्रदेशको आर्थिक समृद्धिमा समेत मद्दत मिल्ने प्रबल सम्भावना रहेको उनको भनाइ छ ।

बाघनगर, नटबर, जहाजी, चिनीचम्पा, कुरकुटियालगायत विभिन्न जातका केरा बाह्रै महिना उत्पादन हुँदै आएको यहाँबाट दैनिक ५ ट्रक केरा निर्यात हुने गर्दछ ।

काठमाडौं, पोखरा, नारायणघाट, वीरगञ्ज, जनकपुर, विराटनरलगायत शहरमा भारदहको केरा पुग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस