कञ्चनपुरमा भएको प्रहरी दमनप्रति राप्रपाको विरोध

Kanchanpur rpp birodh

काठमाडौं । बालिकालाई बलात्कार गरी हत्या गरेको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले निन्दा एवं भत्सर्ना गरेको छ ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको उपभोग गरिरहेका सर्वसाधारण नागरिकमाथि आज कञ्चनपुरमा भएको प्रहरी दमन प्रती राप्रपाको गम्भीर ध्यानाकर्षण भएको राप्रपाले जनाएको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्धारा जारी विज्ञप्तीमा स्थानीयले गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको दमनको घटनाले नागरिकको प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको हनन् मात्र गरेको छैन, लोकतन्त्रकै उपहास गरेको उल्लेख गरिएको छ ।

सो विज्ञप्तीमा भनिएको छ, ‘कञ्चनपुरमा आफ्नै स्थानीय चेली निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको सत्य तथ्य छानबिन गर्न, अपराधीलाई लुकाउने काम नहोस् भन्दै खबरदारी गर्न, घटनाको दोषीलाई कानुन बमोजिम कारबाही गर्न र महिला सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै प्रदर्शनमा उत्रिएका महिला र सर्वसाधारण नागरिक माथि लाठीचार्ज र गोली प्रहारसम्मको घटना निन्दनीय छ ।’

प्रहरी दमनबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राप्रपाले घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको आवश्यक प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

सो विज्ञप्तीमा देशमा केही समय यता दिनहुँ जसो भइरहेको बलात्कारको घटनाको राप्रपाको महिला संगठनले निरन्तर विरोध गर्दै आएको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस