लोभले लाभ, लाभले विलाभ ! आखिर कहाँ हरायो सेनाको २३ करोड रुपैयाँ ?

Nepal army assets

काठमाडौं । डुब्न लागेका र कम कारोबार गर्ने वित्तिय संस्थामा पैसा राख नेपाली सेनाको झण्डै २३ करोड रूपैयाँ डुब्ने अबस्थामा पुगेको छ ।

सैनिक कल्याणकारी कोषमा रहेकोमध्ये २२ करोड ९७ लाख ६७ हजार रूपैयाँ कमसल कारोवार गर्ने वित्तिय संस्थामा पैसा जम्मा गरेको थियो । कमसल कारेवार गर्ने वित्तिय संस्थामा पैसा जम्मा गर्दा सबै रकम डुब्ने अवस्थामा पुगेको सेनाले पनि स्वीकार गरेको छ । 

सेनाले क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडमा १७ करोड ९ लाख ९५ हजार, युनाइटेड विकास बैंकमा १ करोड ५१ लाख, सम्झना फाइनान्समा १ करोड ६९ लाख, नेपाल सेयर मार्केटमा रहेको २ करोड ५३ लाख र हिमालय फाइनान्समा जम्मा गरेको १२ लाख जोखिमा परेको छ ।

युनाइटेड विकास बैंकमा रहेको १ करोड ५१ लाख रूपैयाँ उठाउन कठिन छ । यो बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिसकेका कारण यो पैसा उठ्ने सम्भावना नै कम छ । सो रकम शान्ति सेनामा भाग लिएबापत संयुक्त राष्ट्रसंघबाट शोधभर्ना प्राप्त भएको हो ।

सेनाको तत्कालीन नेतृत्वले चिनेजानेका आधारमा धेरै ब्याज आउने लोभमा कमसल वित्तीय संस्थामा कोषको रकम राखेको थियो । कल्याणकारी कोषको उक्त रकम उठाउन पहल भइरहेको सेनाले जनाएको छ ।

गत वर्ष पनि जोखिममा परेको रकम फिर्ता गर्ने बताइएको थियो । ‘ती वित्तीय संस्थाको अचल सम्पत्ति रोक्का भइसकेकाले जोखिममा परेको रकम उठाउने प्रयत्न भइरहेको छ’, कोषका निर्देशक सहायक रथी रघु भण्डारीले भने ।

कल्याणकारी कोषमा असार मसान्तसम्ममा ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार नगद जम्मा भएको छ । कोषले सञ्चालन गरेको विभिन्न परियोजनामा लगानी गरेको ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार समेतलाई जोड्दा कोषमा चल/अचल ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रूपैयाँ सम्पत्ति छ ।

सेनाले कोषको प्रमुख आयस्रोतको रूपमा रहेको ब्याजबाट आर्थिक वर्ष ०७४/०७५ मा ४८ करोड रूपैयाँ व्याजकर सरकारलाई बुझाएको छ । बहालवाला–अवकाशप्राप्त सैनिक अधिकारी र तिनका आश्रित परिवारका लागि कोषबाट शिक्षा, स्वास्थ्य, स्वरोजगार, राहत, आवास सुविधा, लघुवित्त कर्जा, कल्याणकारी निवृत्तिभरणलगायत कार्यक्रम सेनाले सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस