किन हट्यो विधान मस्यौदा समितिबाट गगनको नाम ?

Gagan thapa

काठमाडौं । नेपाली कांग्रेसभित्र राम्रे प्रभाव राख्ने नेता हुन् गगन थापा । पछिल्ला दिनमा संसदमा नेपाली कांग्रेसका सांसदको चर्चा छ त गगन थापाकै छ । तर, उनी कांग्रेसले नपत्याएका नेता हुन् भन्दा पनि हुन्छ । यसको पछिल्लो उदाहरण हो विधान मस्यौदा समितिबाट नामै हटाइनु ।

कांग्रेसको महासमिति बैठक असोज महिनाभित्र बस्ने भएको छ । यद्यपि कांग्रेसको वैशाख १६ मा बसेको केन्द्रीय समिति बैठकले भदौ महिनाभित्र महासमिति बैठक बोलाउने र त्यसपछि पार्टीलाई नयाँ ढंगले अघि बढाउने निर्णय गरेको थियो ।

भदौंमा गरिने महासमितिको बैठक विधान मस्यौदा समिति गठनमा ढिलाइ भएकै कारण एक महिनापछि धकेलिएको छ । विधान मस्यौदा समिति बन्दै शीर्ष नेताको अनौपचारिक बैठकमा महामन्त्रीको संयोजकत्वमा ९ सदस्यीय मस्यौदा समिति गठन गर्ने निर्णय भएको थियो ।

सभापति शेरबहादुर देउवा, उपसभापति मिलेन्द्र निधि र महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्कासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतका नेताहरु बीचको छलफलपछि ९ सदस्यीय मस्यौदा समितिको संयोेजक पदाधिकारी मध्येबाटै चयन हुने सहमति जुटेको थियो । सोही सहमति अनुसार महामन्त्री पूर्णबहादुर खड्काको नाम संयोजकमा चयन गरिएको हो ।

यसरी भयो भागबण्डा
सहमतिअनुसार सदस्यमा संस्थापन पक्षबाट ४ जना र पौडेल पक्षबाट ४ जना राख्ने थियो । साउन २ मा सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा पौडेलसँग नाम मागिएको थियो ।

त्यतिबेला निधि सोही दिन युरोप जान लागेका थिए । उनले सो दिन सभापति, महामन्त्री कोइराला वा खड्कामध्ये एक जनालाई नाम दिने भनेका थिए । तर, साँझ पौडेलले नाम दिनुअघि टिमको बैठक राखेर प्याकेजमा कुरा गर्ने बताएका थिए ।

पौडेलले मस्यौदा समितिका अतिरिक्त विभागहरु र समग्र पार्टीं संगठन सञ्चालनमा पनि आफ्नो हिस्सा खोजिरहेका छन् । त्यही भएर पनि मस्यौदा समितिमा रहने सदस्यहरुको नाम दिन केही ढिलाई गरेका थिए । उपसभापति निधि स्वदेश फर्केपछि बसेको बैठकमा महामन्त्री कोइरालाले डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको नाम दिए ।

सिटौलाले सुरुमा आफ्नो तर्फबाट गगन थापाको नाम दिएका थिए । नेता पौडेल आफ्नो टिममा परेको ४ जनामध्ये महामन्त्रीले नै २ जनाको नाम दिएपछि अप्ठेरोमा परेका थिए ।

त्यसपछि मात्रै पौडेलले सिटौला सहितको तर्फबाट भनेर नविन्द्रराज जोशी र गगन थापाको नाम प्रस्ताव गरेका थिए । थापाको नाममा सिटौलाको पनि समर्थन रहने र आफूले प्रस्ताव गरेपछि थापा भोलिका दिनमा आफूप्रति सकारात्मक हुने ठानेर पौडेलले थापाको नाम प्रस्ताव गरेका थिए । तर, पौडेलले थापाको नाम प्रस्ताव गरेपछि सिटौलाले परिवर्तन गरेर प्रदिप पौडेलको नाम दिएका थिए ।

संस्थापन पक्षले भने मस्यौदा समितिमा आनन्दप्रसाद ढुंगाना, मानबहादुर विश्वकर्मा, डिना उपाध्यायसहितको नाम दिने तयारी छ ।

प्रतिकृया दिनुहोस