ओलीको वाणी : तमोरमा बाँध, मोरङमा सिँचाई सेवा

Oli morang ma

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले तमोर नदीमा अग्लो बाँध बनाएर मोरङको चिसाङ खोलामा पानी ल्याई सिंचाईको व्यवस्था गर्ने दावी गरेका छन् ।

बुधबार मोरङको पथरी शनिश्चरेमा आयोजित सभामा प्रधानमन्त्री ओलीले पूर्वपश्चिम र उत्तर दक्षिण रेलमार्ग सञ्चालन गर्ने र पूर्वपश्चिम ६ लेण्डको सडक निर्माण गर्ने दावी गरेका हुन् ।

ओलीले लामो समय शासकहरुको बेइमानीले नेपाल विकासमा पछि परेको भन्दै उनले अब मुलुक समृद्ध बन्ने बताए । यस क्रममा केहीले यसखाले समृद्धिको बाटोलाई गलत अर्थमा व्याख्या गर्दै डलरको बोली बोल्ने गरेको टिप्पणीसमेत प्रधानमन्त्री ओलीले गरे ।

उनले आफूले राजनीतिबाट कुनै आर्थिक लाभ नलिने तथा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाए । उनले आफू मुलुक बदल्ने प्रतिज्ञा गरेर आएको भन्दै इमान्दारिपूर्वक काम भएमा मुलुक समृद्ध हुने दावी गरे ।

ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई सजिव बनाउन इमान्दार र सक्रिय रुपमा लाग्ने विश्वास व्यक्त गरे । लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन् । प्रधानमन्त्रीले भने ‘समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन, यसमा सबैको सहयोग आवश्यक छ ।’

मोरङ ३ का जनप्रतिनिधि भानुभक्त ढकाल कानूनमन्त्री बनेकोमा उनको स्वागतमा आयोजित कार्यक्रममा कानूनमन्त्री ढकालले सुकुम्वासी समस्या, नदी कटान नियन्त्रण, जातीय सांस्कृतिक संग्रहालयसहित आफूले निर्वाचनका बेला गरेका घोषणाहरु पूरा गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले पथरी शनिश्चरेसहित प्रदेश र मुलुककै समृद्धिको योजनामा आफूहरु लागेको बताए ।

प्रतिकृया दिनुहोस