रहस्यमय बन्दै बालिका हत्या प्रकरण : किन शंकाको घेरामा छ प्रहरी ?

Nirmala panta aandolan

कञ्चनपुर । निर्मला पन्त साउन १० गते सोमबार साथीको घरमा जान निस्किएकी थिइन् । दुर्भाग्य, उनी ज्यूँदो शरीर घर फर्किन पाइनन् । उनको बलात्कारपछि निर्मम तरिकाले हत्या भयो ।

साथीको घर गएकी निर्मलाको शब मूल बाटोबाट झण्डै सय मिटरजति भित्र उखुबारीमा फेला परेको थियो । साइकल पचास मिटरको दूरीमा फेला परेको थियो ।

उनको हत्यापछि स्थानीयले विरोध जनाए । देश विदेशमा प्रहरकिो आलोचना भयो । केही दिनसम्म सो घटनामा प्रहरी नै संलग्न भएको भन्दै विरोध पनि भयो ।

स्थानीयले विरोध गरेपछि प्रहरीले केही दिनअघि मानसिक सन्तुलन गुमाएका दिलिप सिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, स्थानीयले विष्ट सो घटनामा संलग्न नभएको र दोशीलाई उम्काउन खोजिएको भन्दै आन्दोलन गरिरहे । मंगलबारदेखि त आन्दोलनले उग्र रुप नै लिन थालेको छ ।

को हुन् विष्ट ?
खासगरी प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा भिमदत्त नगरपालिका–१९, बागफाँटाका मानसिक रुपमा अस्वस्थ दीलिप बिष्टलाई सार्वजनिक गरेपछि जनस्तरमा आक्रोश बढेको छ ।

बिष्टले आफ्नै भिनाजुको हत्या अभियोगमा ९ वर्ष कारागारको सजाय भोगिसकेका छन् । उनी आपराधिक पृष्ठभूमिकै भए पनि निर्मलाको बलात्कार र हत्यामा उनको संलग्नता स्थानीयका लागि अपत्यारिलो कथा बनेको छ ।

बिष्ट महेन्द्रनगर बजारमा माग्दै हिँड्ने भएकाले पनि अधिकांशले उनलाई चिन्ने गर्दछन् । मानसिक र शारीरिक रुपमा अस्वस्थ भएकाले पनि उनलाई फसाएर वास्तविक अपराधीलाई जोगाउन खोजेको भन्दै जनस्तरमा आक्रोश बढेको छ ।

प्रहरीले समेत विगतको पृष्ठभूमिलाई आधार मानेर बिष्टलाई पक्राउ गरेको जनाएको छ । तर बिष्टका आफन्त र छिमेकीले भने उनलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको बताएका छन् ।

प्रहरीले बिष्टले निर्मलाको हत्या गरेको अभियोग लगाएर उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको बताए छ । तर, बिष्टले भने आफूलाई फसाउन खोजिएको जिल्ला अदालतमा बयान दिएका छन् । उनलाई अनुसन्धानका लागि भन्दै १० दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

शंकाको घेरामा प्रहरी
प्रहरीले निर्मलाको सामूहिक बलात्कारपछि हत्या गरिएको बताउँदै आएको थियो । निर्मलाको बलात्कार र हत्या प्रकरणमा प्रहरीको सुरुदेखि नै शंकास्पद भूमिका देखिन्छ ।

यसअघि पनि प्रहरीले चक्रदेव बडू नामका युवकलाई निर्मलाको हत्याको जिम्मेवारी स्वीकार्न दबाब दिँदै दुई साता बढी समयसम्म हिरासतमा राखेको थियो । सोही घटनामा प्रहरीले अर्का एक युवकलाई समेत यस्तै दबाब दिएको खुलेको छ ।

घटना भएको २५ दिनसम्म घटनास्थलबाट केही बरामद नगरेको प्रहरीले २६ औं दिनमा भने निर्मलाका बाबुलाई घटनास्थलमा लगेर बिष्टको लुगा फेला पर्न सक्ने भन्दै लुगाको टुक्रा खोजेजस्तो नाटक गरेको छ ।

प्रहरीले घटनास्थलमा दीलिपको सर्टको खल्तीको टुक्रा भेटिन सक्ने भन्दै आफूलाई पनि घटनास्थल लगेको र केही बेरमा नाटकीय रुपमा लुगाको टुक्रा भेटिएको निर्मलाका बुवाको भनाई छ ।

प्रतिकृया दिनुहोस