बालिका हत्या प्रकरण : उग्र बन्यो कञ्चनपुर, ठाउँठाउँमा झडप, १२ सेल अश्रुग्यास प्रहार

Kanchanpur banda

कञ्चनपुर । बलात्कारपछि हत्या गर्ने बास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै थालिएको आन्दोलन चर्किदै गएको छ ।

यसैक्रममा महेन्द्रनगरमा नागरिकहरुले आन्दोलन बुधबार चर्काएका छन् । स्थानीय नागरिकहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि लगायतका बजारका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपारी, टायर बालि अवरुद्ध गरेका छन् । आन्दोलनका कारण बजार व्यवसाय पूर्णरूपमा बन्द भएको छ । प्रदर्शका क्रममा भीड नियन्त्रण गर्न प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले प्रहरीलाई ढुंगा,पानीका बोतल प्रहार गरेपछि अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले बताएका छन् । तर, स्वतःस्फूर्त रुपमा आन्दोलनमा उत्रिएका नागरिकहरु ठूलो मात्रामा जम्मा भइरहेका छन् ।

प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएर उम्किन खोजेको उनीहरुको आरोप छ । आन्दोलनमा उत्रिएका नागरिकहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न माग गरेका छन् ।

गत साउन १० गते साथीको घरमा जान्छु भनी निस्केकी १३ वर्षीया निर्मला ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । तर, प्रहरीले केही दिनअघि मानसिक सन्तुलन गुमाएका दिलिप सिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

प्रतिकृया दिनुहोस