कार्यालय सहयोगीको हत्या, १० लाख लुटियो

Hatya

दार्चुला । मार्मा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ ।

मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मंगलबार घरमै हत्या भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

ठगुन्नाको साथमा रहेको १० लाखसमेत हत्याराले लुटेर लगेको स्थानीयवासी दिनेश सिंहले जानकारी दिए । घरमा एक्लै सुतिरहेका अवस्थामा उनको हत्या गरिएको छ । उनको टाउकोमा घाउ छ ।

ठगुन्नाका श्रीमती र छोरा तराइतिर बस्दै आएका छन् । घरमा पठाउनका लागि जम्मा गरेको १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, इलाका प्रहरी कार्यालय लटिनाथ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।

प्रतिकृया दिनुहोस