जनमोर्चाले बनायो विपद व्यवस्थापन कोष, बाढीपीडितलाई सहयोग गर्न अपिल

Chitra bdr kc

काठमाडौं । राष्ट्रिय जनमोर्चाले बाढीपहिरो पीडितलाई राहत वितरण विपद व्यवस्थापन कोष स्थापना गरेको छ ।

जनमोर्चाले केही दिनदेखि जारी अविरल वर्षाले जनधनको क्षति पुर्याइरहेकाले उनीहरुलाई सहयोग गर्न विपत व्यवस्थापन कोष खडा गरेको हो ।

जनमोर्चाले आगामी वर्षा मौसममा बाढी वा पहिरोबाट पुग्ने क्षतिको लागि राहत वितरण गर्नका लागि पनि हामीले देशभित्र, प्रवास वा विदेशमा भएका सबै नेपालीहरुसित सहायता संकलन गरी शीघ्र पठाउन आग्रह गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्ति जारी गर्दै सबैमा हसयोगको अपिल गरिएको छ । जनमोर्चाले गत वर्ष पनि देशभित्र र बाहिरबाट संकलित रकम ८१ लाख रुपैयाँको राहत वितरण गरेको थियो ।

यस्तो छ विज्ञप्ती
नेपालमा हालै आएको वर्षा, बाढी र पहिरोबाट पहाड र तराईमा समेत ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । हाम्रो पार्टीले उक्त बाढी पहिरोबाट निधन भएका सबै व्यक्तिहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।

वर्षा मौसम बढ्नुका साथै त्यस प्रकारको बाढी पहिरोबाट अरु धेरै जनधनको क्षति पुग्ने सम्भावनाप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ । त्यसकारण त्यस प्रकारको क्षतिग्रस्त स्थानहरुमा तुरुन्त उद्धार तथा राहतको व्यवस्था गर्न हामीले सरकार, प्रशासन र सबै तहका स्थानीय निकायहरुसित माग गर्दछौं । साथै त्यस प्रकारको प्रकोप वा विपत्तिका लागि पूर्व सतर्कता अपनाउन र त्यस प्रकारको व्यवस्था गर्न पनि माग गर्दछौं ।

गत वर्षहरुमा भूकम्प, बाढी, पहिरो वा आगलागीबाट भएको जनधनको क्षतिमा हाम्रो पार्टीले पनि देशका विभिन्न भागहरुमा पीडित जनतालाई राहत वितरण गरेको थियो । हामीलाई यो बताउँदा खुसी लाग्दछ कि त्यतिबेला देशभित्र र भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुले ठूलो मात्रामा सहयोग पु¥याउनु भएको थियो । त्यसरी हामीले गत वर्षहरुहरुमा करिब रु. ८१ लाख बराबरको राहत वितरण गरेका थियौं । हामीले छिटै त्यसबारे पुस्तिका प्रकाशित गरेर त्यो हिसाबको विवरण सार्वजनिक गर्ने योजना बनाएका छौं ।

आगामी वर्षा मौसममा बाढी वा पहिरोबाट पुग्ने क्षतिको लागि राहत वितरण गर्नका लागि पनि हामीले देशभित्र, प्रवास वा विदेशमा भएका सबै नेपालीहरुसित सहायता संकलन गरी शीघ्र हाम्रो पार्टीको कार्यालयमा पठाउन अनुरोध गर्दछौं । वर्षा बढ्नुका साथै त्यसरी जनधनको धेरै नै क्षति पुग्ने सम्भावना छ । त्यसरी देशभित्र वा बाहिरका विभिन्न स्थानहरुबाट आउने सहायताबाट बाढी र पहिरोबाट पीडित जनतालाई केही सहायता पुग्यो भने पनि त्यो खुसीको कुरा हुनेछ । हामीले उक्त रकमको संकलनका लागि बेग्लै विपद व्यवस्थापन कोषको निर्माण गरेका छौं । उक्त कोषमा सिधै र शीघ्र बढीभन्दा बढी सहयोग रकम पठाउन हामीले सबै सुभेच्छुकहरुसित अपील गर्दछौं ।

मिति २०७५ असार १९
चित्रबहादुर के.सी.
अध्यक्ष

 

 

प्रतिकृया दिनुहोस