उर्जामा विपद् व्यवस्थापन समिति, अब मौसमको सूचना २४ सै घण्टा

Jalsrota

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रालय स्तरीय विपद व्यवस्थापन समन्वय समिति गठन गरेको छ। अविरल वर्षासँगै आएको बाढि, पहिरो र डुबानबाट हुने जोखिम न्यूनिकरणका लागि सोमबार मन्त्रालय स्तरीय विपद व्यवस्थापन समन्वय समिति गठन गरेको हो।

बाढि, पहिरो र डुबानलगायतको जोखिमबारे सर्वसाधारणलाई मन्त्रालयको तर्फबाट पूर्व सावधानीका लागि आवश्यक सतर्क गराउने उद्देश्यका साथ विपद व्यवस्थापन समन्वय समिति गठन गर्नु परेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जानकारी दिए।

मन्त्रालय अन्तरगतको जलस्रोत महाशाखाका प्रमुख महेश्वर नरसिंह केसीको नेतृत्वमा गठित समितिमा जल तथा मौसम विज्ञान विभाग, जलस्रोत तथा सिंचाई विभाग, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण र जल उत्पन्न प्रकोप व्यवस्थापन शाखाका प्रमुखहरु रहेका छन्।

वर्षाका कारण हुने जोखिम न्यूनिकरण र विभिन्न पूर्वाधारहरुको आपत्कालिन संरक्षण गर्न सो समिति गठन गरिएको पनि मन्त्री पुनले स्पष्ट पारे। उनले समितिले मौसमको पूर्वानुमान र वर्षाका कारण हुने समस्याका बारेमा चौविसै घण्टा पूर्वसूचना दिने व्यवस्था मिलाइएको पनि जानकारी दिए।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले डुबान भएका ठाउँहरुमा मानवीय क्षति हुन नदिन विद्युत आपूर्ति बन्द गर्ने लगायतका सावधानी अपनाइएको जानकारी दिए। उनले हालसम्म विद्युत सबस्टेशन बन्द हुने गरी डुबान समस्या नदेखिएको पनि स्पष्ट पारे।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले बाढि, पहिरो र डुबान हुने ठाउँहरुमा उच्च सर्तकता अपनाउन पनि सर्वसाधारणलाई अपिल गरेको छ।

प्रतिकृया दिनुहोस