सम्झिराख्नुस्, देशभर अझै दुई दिन पानी पर्छ

Vari barsa

काठमाडौं । देशका विभिन्न स्थानमा परेको भारी वर्षाले जनधनको पनि क्षति भइरहेको छ । मनसुन पूर्ण रुपमा सक्रिय भएकाले देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको हो ।

मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन रेखा क्रमशः दक्षिणतर्फ सरेपछि मात्र नेपालमा वर्षा कम हुन्छ । यही असार १४ देखि मनसुन देशैभर फैलिएका कारण बदलीसँगै वर्षा भइरहेको छ । मनसुन न्यून चापीय रेखा तराईको आसपासमै रहेकाले बुधबारसम्म बदली र वर्षाको सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार सबैभन्दा बढी नेपालगञ्जमा १८७, भैरहवामा १६६, दाङमा १०६, धनगढीमा ९९, वीरेन्द्रनगरमा ८५ र विराटनगरमा ५९ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १५ मिलिमिटर वर्षा भएको छ ।

केही दिनयता बदली र वर्षाका कारण उपत्यकाको अधिकतम तापक्रम पनि घटेको छ । आइतबार काठमाडौँको अधिकतम तापक्रम २७ डिग्री रहेको थियो भने गत असार १४ र १५ गते ३० डिग्रीको हाराहारीमा थियो ।

प्रतिकृया दिनुहोस