बाढीको बबण्डर : मधेश जलमग्न, नदीमा बढ्यो बाढी

बज्न थाल्यो खतराको साइरन, १ जनाको मृत्यु, १ जना वेपत्ता

Badhi 2

काठमाडौं । गएरातीदेखि परेको अविरत वर्षाले जनजीवन कष्टकर बन्न थालेको छ । मधेशमा बाढीले बस्ती डुबानमा परेको छ । बाढीले एक जनाको मृत्यु पनि भइसकेको छ ।

गएराति देखिको अविरल वर्षा र बाढीले चितवनको माडी–ठोरी सडकखण्डको रौतनी खोलाको पुल भाँसिएको छ । रिउ खोलाको पानी सतह खतराभन्दा माथि पुगेपछि प्रहरीले सतर्क रहन अपिल गरेको छ ।

अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएका छन् ।

चितवनकै रौतनी खोलाको पुल भाँसिएपछि माडी–ठोरी सडकखण्ड अवरुद्ध बनेको छ । बाढी र डुवानका कारण जिल्ला सदरमुकामसँग माडीको यातायात सम्पर्क विच्छेद भएको छ ।

माडी जलमग्न
माडीको अधिकांश क्षेत्र जलमग्न भएकाले उच्च सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ । माडीमा अधिक ठाडो खोलाहरु रहेका छन् । वर्षाले अधिकांश खोलाको पानीको बहाव बढेको छ ।

माडीको रिउ खोलामा पानीको सतहले खतराको लेभल पार गरेको छ । सो नदीमा खतराको तह ३.५ मिटर रहेकोमा अहिले पानीको सतह ३.५५७ रहेको हाइड्रोलोजी विभागले जनाएको छ ।

पश्चिममा खतराको सुचक
पश्चिम नेपालका ठूला नदीहरुमा जलस्तर बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्व सूचनाका अनुसार नारायणी नदीको रिउखोला बनकट्टा र बबई नदीको चेपाङ क्षेत्रमा पानीले खतराको सूचक पार गरेको छ ।

नारायणीमा खतराको सूचक बिन्दु ३ मिटर भए पनि सोमबार बिहान ११ बजेर ३५ मिनेटको रेकर्डअनुसार साढे ३ मिटर पुगिसकेको छ । बबईको चेपाङमा ५ मिटर ५० सेन्टिमिटर खतराको लेभल भए पनि ६ मिटर पुगिसकेको छ । अहिले खतराको जानकारी दिन साइरन बजाइएको छ ।

कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी लगायतका नदीहरुमा पनि बहाव बढ्ने क्रम जारी छ ।

रातिदेखि भइरहेको अविरल वर्षाले बाँकेका विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

वीरगञ्ज पनि डुबानमा
वीरगञ्जको मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती ब्यहोरेका छन् ।

यता, अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न छन् । नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।

सुरक्षाकर्मी ‘हाई अलर्ट’ मा
वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचित गरेको छ । उद्धारका लागि सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’मा राखिएको छ ।

लहानमा उस्तै
दुई दिनदेखिको लगातार वर्षाले सिरहाको जनजीवन प्रभावित भएको छ। सिरहाको मुख्य बजार लहान, सिरहा, मिर्चैयालगायतका ठाउँहरुमा सडक जलमग्न भएका छन् ।

सिरहाको लहानको बजार क्षेत्रमा पर्ने एक नम्बर सडक, थानाचोक, पूर्व बस स्टेण्ड, हुलाक टोल, पशुपति आदर्श मावि वरिपरि एक फिटसम्म जमेको छ ।

मिर्चैयाको थाना चोक, बजार क्षेत्र र प्रवेशद्वार, कटारी चोक लगायतका गाउँहरूमा पानी जमेकाले आवतजावतमा कठिनाइ भएको छ । मिर्चैयाको थाना चोक र बजार क्षेत्रका अधिकांश घरमा पानी पसेको छ भने सडक तथा बाटो जलमग्न छन् ।

कर्णाली राजमार्ग अवरुद्ध
आइतबारदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गअन्तर्गतको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउन पहिरो गएको ठाउँमा डोजर पुगे पनि वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको ट्राफिक प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस