देशभर भारी वर्षा : ठाउँठाउँमा पहिरो, नारायणगढ–मुग्लिन सकड अवरुद्ध

सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो, नेपालगञ्ज जलमग्न

Thau thau ma pahiro

काठमाडौं । केही दिनदेखि जारी अविरल वर्षाले देशभरको जनजीवन कष्टकर बनेको छ । देशका विभिन्न स्थानका सडकहरू अवरुद्ध भएका छन् ।

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा बिहान ८ बजे ठूलो चट्टान खसेपछि पूर्ण रुपमा अवरुद्ध छ ।

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडकमा लेदो माटो र ढुंगासहितको पहिरो निरन्तर खस्ने क्रम नरोकिएकोले वर्षाका कारण पहिरो हटाउने कार्य अझै शुरु भएको छैन । सामान्य वर्षा हुने बित्तिकै सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा पहिरो खस्ने भएकाले यो राजमार्ग निक्कै जोखिमपूर्ण मानिन्छ । यस वर्षमात्र उक्त क्षेत्रमा पहिरोका कारण यसअघि राजमार्ग करीब चार पटक अवरुद्ध भइसकेको छ ।

यता आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज जलमग्न भएको छ । सथानीय प्रशासनले सर्तकता अपनाउन आग्रह गरेको छ ।

निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।

बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर पुगेको छ । कुसुममा साढे पाँच मिटर सतह पुग्ने बित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन ।

वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् ।

बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा हाइअलर्ट रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

लगातारको वर्षाले पूर्वी नेपाल पनि उत्तिकै प्रभावित बनेको छ । सम्तकोशकिा पानीको बहाव बढेसँगै सप्तकोशी आसपासका बासिन्दा त्रसित बनेका छन् ।

प्रतिकृया दिनुहोस