विद्युत्का पोल गाड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, चार जना घाइते

Electric shot

महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम भीमदत्त नगरपालिका–३ विचपुरीमा विद्युतका पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने चार मजदुर घाईते भएका छन् । आइतबार २२ वर्षीय शिवराज रानाको मृत्यु भएको हो ।

कैलालीका २३ वर्षीय वालविर चौधरी, कञ्चनपुरको बेल्डाँडीका सन्दिप चौधरी, लालझाडी देखतभूतलीका जोहरलाल राना र बेलौरी–६ का अनिल चौधरी घाईते भएका छन् । घाईते चारै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि सेती अञ्चल अस्पतालमा रेफर गरिएको छ । मृतकको पोष्टमाष्र्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

नेपाल विद्युत प्राधिकरण शाखा कञ्चनपुरले विचपुरीमा नयाँ पोल गाड्का लागि स्थानीय निर्माण व्यवसायी पदम बोहरालाई ठेक्का दिएको थियो । पाँच जना मजदुरलाई ठेकेदार बोहराले दैनिक ज्यालामा काममा लगाएका थिए ।

नेपाल विद्युत प्राधिकरण शाखा कञ्चनपुरका प्राविधिक नर बहादुर ऐरले नयाँ पोल गाड्ने बेला विद्युतको साविक लाईन बन्द नगर्दा करेन्ट लागेको बताए । पानीले झिजेको विद्युतको सिमेन्टको पोल माथि तार छुँदा करेन्ट लागेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस