प्रधानमन्त्रीले सुरु गरे सांसदहरुसँग नियमित भेटघाट

Pm kp oli smiling

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आइतबारबाट साप्ताहिक रुपममा नेकपाका सांसदहरुसँग भेटघाट सुरु गरेका छन् ।

प्रधानमन्त्री ओलीले हरेक हप्ता प्रादेसिक रुपमा सांसदहरुलाई र महिनाको १ र १५ गतेका दिन पार्टी कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम अन्तर्गत आज प्रदेश १ का सांसदहरुसँग भेटघाट गरेका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको पक्षमा दृढतापूर्वक उभिन पार्टीका सांसदहरुलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको मिसनबारे जनतालाई आश्वस्त पार्न पनि आत्मविश्वासका साथ अघि बढन पार्टीका सांसदहरुको गम्भिर ध्यानाकर्षण गराए ।

प्रदेश नम्बर १ सांसदहरुसँग सिंहदरबारमा भएको सामुहिक भेटमा उनले सरकार मुलुकलाई समृद्ध बनाउने मिसनका साथ अघि बढेकाले त्यसमा साथ दिएर अघि बढन सांसदलाई सचेत गराए । सरकारको नीति तथा कार्यक्रम र बजेटको पक्षमा दृढतापूर्वक उभिन प्रधानमन्त्री ओलीले आफूहरुलाई निर्देशन दिएको भेटमा सहभागी सांसद योगेश भट्टराईले जानकारी दिए ।

त्यसक्रममा पार्टीका सांसदहरुले पनि जनताको गुनासोबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । सरकारबारे प्रदेश नम्बर १ का जनताको गुनासो पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको सांसद भट्टराईले बताए ।

प्रधानमन्त्री ओलीले आईतबारबाट पार्टीका सांसदहरुको औपचारिक भेटघाट कार्यक्रम सुरु गरेका हुन्। पार्टीका सांसदहरुले नै सरकारको नीति तथा कार्यक्रम र विनियोजन बजेटबारे आलोचना गरिरहेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुको भेटमा बजेट पर्याप्त नभएकाले सबै क्षेत्रमा माग अनुसारको बजेट व्यवस्थापन गर्न नसकिएको स्पष्टिकरण दिएका थिए ।

प्रतिकृया दिनुहोस