विरोधले रोकियो चिकित्सा शिक्षा विधेयक

Sher bdr tamang

काठमाडौं । सरकारले आइतवार पारित गर्ने भनिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित नगर्न चौतर्फी विरोध भएपछि अन्ततः सरकार पछि हटेको छ ।

अब सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति गरी नियम निलम्बन नगरी (संसदीय प्रक्रियाको शून्यबाट) सदनमा प्रस्तुत गरिने छ ।

नेपाल कम्युनिस्ट पार्टीले यो विधेयकलाई आइतबार नै पारित गर्नेगरी सदनमा दर्ता गरेको थियो । तर, दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि सरकार पछि हटेको हो ।

यो विधेयक दोस्रो पटक सदनमा प्रस्तुत भएको हो । सरकारले विधेयकलाई असार २० गतेभित्र पारित गर्ने लक्ष्यसहित सदनमा ल्याइएको थियो । सोही अनुसार सो विधेयक आइतबार नै पारित गर्नेगरी कार्यसूची तय गरिएको थियो ।

पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारले डा. गोविन्द केसीका माग सम्बोधन गर्ने भन्दै संसदमा प्रस्तुत गरेको थियो । त्यसमा तत्कालीन प्रतिपक्षी दल एमालेले विरोध गरेको थियो ।

सोही विधेयकलाई जस्ताको तस्तै पारित गर्न डा. केसीले माग गरेका छन् तर, वर्तमान सरकारले त्यसमा व्यापक संशोधन गरेर सदनमा दर्ता गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले प्रतिपक्षी दलको भावनाअनुसार नियम निलम्बन नगरेर नियमित प्रक्रियाबाट नै उक्त विधेयक सदनमा प्रस्तुत गर्नेमा सहमति भएको बताए ।

सरकारले नियम निलम्बन गरेर विधेयक प्रस्तुत गर्नेबारे प्रतिपक्षी मात्रै होइन, सत्तारुढ दल नेकपाका सांसदहरूको पनि विरोध थियो । नेकपाका सांसद कृष्णभक्त पोखरेलले सरकारको कमजोरीका कारण यसरी नियम निलम्बन हुन लागेको र यसले सही थिति नबसाल्ने बताएका थिए ।
यसअघि पनि नियम निलम्बन गरेर विधेयक ल्याएपछि विरोध भएको थियो । त्यसपछि अबदेखि नियम निलम्बन गरेर विधेयक नल्याउने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

प्रतिकृया दिनुहोस