लुतो फ्याँकेर सुतेको केहीबरमै बग्यो घर, बमबहादुरको गुम्यो छोरा

Pahiro panchaudai

कुश्मा । गाउँमा खेत रोप्ने चटारो अझै छ । दिनभरी खेत रोपेर फर्किएका थिए जलजला–८, लस्तीस्थित बरनेटाको बमबहादुर परियारको परिवार । साउने संक्रान्तिमा लुतो फालेर ११ बजे सुतेका उनीहरु बिहान मुखसमेत देख्न नपाइकन छोरा गुमाउन बाध्य भए ।

सुत्ने बेलामा सामान्य पानी परेको थियो । वर्षायामको समयमा परेको वर्षालाई सामान्य जस्तै मानेर दिनभरीको कामले थकान भएका उनीहरु मस्त निद्रामा थिए । वर्षा बढ्दै गएपछि घर माथिको ढिस्कोबाट खसेको पहिरोले घर नै पुरियो ।

गड्याङगुडुङको आवाज आएपछि राति एक बजे बमबहादुर र उनकी श्रीमती घर बाहिर निस्कन सफल भए तर घरभित्रको माथिल्लो खाटमा सुतेका छोरा विकास परियार भने पहिरोले पुरिए । भर्खर कमाइ गर्न थालेको छोरो पहिरोले पुरिएपछि बमबहादुरको परिवारमा ठूलो बज्रपात परेको अन्नपूर्ण पोष्टले उल्लेख गरेको छ ।

अध्यारोमा आफ्नै ज्यान जोगाउन मुस्किल भएपछि बाहिर निस्केर विकासलाई ठूलो स्वरमा चिच्चाएर बोलाए तर उनी निद्रामै भएकाले सुनेनन् जतिबेला उनलाई पहिरोले पुरिसकेको थियो । बमबहादुरका २ वटा छोरा छन् । जसमध्ये विकास जेठा हुन् भने अर्का विद्यालय पढ्दै छन् ।

त्यसपछि पहिरोले पुरै घर पुरेकाले विकास पनि पुरिएका थिए । उनको शव बिहान सुरक्षाकर्मी र स्थानीयवासीको पहलमा पहिरो पन्छाएपछि मात्र भेटिएको थियो । विपन्न तथा सुकुम्बासी परिवारका २६ वर्षीय विकास ट्याक्टर चालक हुन । दिनभरी ट्याक्टर चलाएर फर्किएका उनी सुतेकै ठाउँमा चीर निद्रामा परे ।

पहिरोका कारण बमबहादुरको मात्र हैन स्थानीय विपन्न परिवारका अन्य १४ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । बिहान हेर्दा पहिरोले असर नगरेको कुनैपनि घर नरहेको वडा नं. ८ का वडाध्यक्ष हरिविकास जिसीले बताए । गाउँको इमान्दार तथा भविष्यमा आशालाग्दो युवालाई पहिरोले पुरेर ज्यान गुमाएपछि सिंगो दलित बस्ती शोकमा डुबेको छ ।

पहिरोका कारण ज्यान गुमाएका विकासको परिवारलाई घटनास्थलमै पुगेर प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेलले रु। एक लाख रुपैयाँ राहत प्रदान गरेका छन् । विकासको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गर्न ल्याइएको भएपनि गर्नुनपर्ने भन्दै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पहिरोमा परेर सात घर पूर्ण रुपमा भत्किएका छन् भने बाँकी ७ घरपनि बस्न नमिल्ने गरी क्षति भएको प्रहरीले जनाएको छ । अन्य २२ घर समेत जोखिममा छन् । वर्षाकै कारण जलजला गाउँपालिका वडा न ७ धाइरिङ बास्कोट बस्ने भीमलाल आचार्यको घर पहिरोले पुरिँदा तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा घरमुलि भीमलाल आचार्य, तुलसीदेवी आचार्य र नारायणी आचार्य छन् ।

घाइते मध्ये गम्भीर अवस्था भएका भीमलाललाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने श्रीमती तुलसीदेवी आचार्य र पाहुना बस्न आएकी नारायणी आचार्यलाई थप उपचारको लागि पोखरा लगिएको छ । आचार्यको घर समेत पहिरोका कारण पूर्ण रुपमा क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस