जुम्लाबाट डा. केसीको ओलीलाई प्रश्न, कति दिन तानाशाही शासन चलाउँछौ ?

Dr. kc 16

जुम्ला । डा. गोविन्द केसीले जुम्लाबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्की दिएका छन् ।

‘ओलीजी अस्पताल प्रवेशमा रोक लगाउन सक्छौँ । तर, मेरो मुख बन्द गर्न सक्दैनौँ’ धर्ना बसेको बेला केसीले भने, ‘मेरो नागरिक अधिकार हनन् किन ओली जी ? कति दिन तानाशाही शासन चलाउँछौ ?’जिल्ला प्रशासन कार्यालय अगाडि अनसन सुरु गरेपछि प्रहरीले केसीलाई नियन्त्रणमा लिएको छ ।

आफ्नो १५ औं अनसनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको परिषरतर्फ जादै गर्दा प्रहरीले बाटोमै रोकेपछि डा.केसीले जिल्ला प्रशासन कार्यालय नजिकै धर्ना बसेका थिए ।

प्रहरीले अनसनमा अवरोध गरेपछि उनले हिरासतमै अनसन बस्ने चेतावनी दिएका छन् । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । शुक्रबार कर्णाली प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट २ सय मिटर वरपर अनसन तथा आन्दोलन गर्न नपाइने भने पनि डा. केसीलाई प्रहरीले त्यहाँ नपुग्दै रोकेको थियो ।

केसीको समर्थक स्थानीयवासीले अस्पताल जान दिनुपर्ने माग गरेका थिए । डा. केसीको समर्थकले पम्प्लेट जारी गर्दै विरोध जनाएका छन् । ‘डा. केसीको आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ, ओली सरकारको दमन बन्द गर, प्रतिष्ठानमा एमबीबीएस पढाई सुरु गर, डा. केसी माथिको दमन कर्णालीमाथि हो, निरंकुश ओली सरकार, नागरिक स्वतन्त्रता खोई ?’ जस्ता नारा प्रदर्शनकारीले लगाएका छन् ।

प्रतिकृया दिनुहोस