सर्वाेच्चको आँगनमा पुगे दीपक मनाङे

Dipak mange

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका गुण्डा नाइके दीपक मनाङे धरौटीमा रिहा गर्न माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् ।

मनाङबाट प्रदेशसभामा निर्वाचित सांसद राजीव लामा उर्फ दीपक मनाङे सफत नखाई पक्राउ परेका थिए । उनी जेलमै रहेकाले उनले धरौटीमा रिहाई गर्न माग गरेका छन् ।

न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले यसअघि उच्च अदालतले गरेको फैसला र सर्वोच्चले सदर गरेको फैसला मगाएको हो । सर्वोच्च अदालतले उनको मुद्दामा सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ ।

कुनै समय एउटै समूहमा रहेका चक्रे मिलनलाई ज्यान मार्ने उद्योग गरेका अभियोगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला अनुरुप उनी हाल डिल्लीबजार थुनामा छन् । सोही फैसलालाई चुनौती दिँदै मनाङेले बिहीबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।

उनले अदालती बन्दोबस्तीको १९४ को सुविधाअनुसार धरौटी बुझाएर थुनाबाहिर रही मुद्दाको पुनरावेदन गर्नसमेत माग गरेका छन् ।

उच्च अदालतको मुद्दाको म्याद नै नपाएको र एकपक्षीय रुपमा फैसला भएको जिकिर उनको पुनरावेदनमा गरिएको छ ।

सर्वोच्चले अर्को सुनुवाइमा उनलाई धरौटीमा छोड्ने वा नछोड्ने विषयमा निर्णय सुनाउने छ । मुद्दाको अन्तिम फैसला गर्दा सर्वोच्चले मनाङेलाई सफाइ दिने वा यसअघि कै निर्णय सदर गर्ने भन्ने तय गर्नेछ ।

प्रतिकृया दिनुहोस