सुन काण्डबारे किन मुख खोल्दैनन् आइजिपी खनाल ?

Sarbendra khanal

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइजिपी भएपछि पहिलोपटक बिहीबार पत्रकार सम्मेलन आयोजना गरे । तर, उनले साढे ३३ किलो सुन तस्करीका विषयमा भइरहेको अनुसन्धानका सम्बन्धमा आफूले केही पनि बोल्न नमिल्ने बताए ।

आखिर किन त ? उनी भन्छन्, ‘सुन तस्करीका विषयमा अनुसन्धान गर्न नेपाल सरकारले उच्च स्तरीय छानविन समिति गठन गरेकाले त्यस सम्बन्धमा आफूले बोल्ने कानुनी आधार छैन ।’

तर, उनले सुन तस्करीका सम्बन्धमा भइरहेको समितिको अनुसन्धानमा भने आफूले आवश्यक सबै सहयोग गर्ने पनि स्पष्ट पारे । ‘सुन तस्करीलाई नियन्त्रण गर्न आफू प्रतिबद्ध छु’ उनले भने, ‘सुन तस्करी नियन्त्रणका लागि नेपाल सरकारले उच्च स्तरीय समिति बनाएकाले त्यसले दिएको प्रतिवेदनको आधारमा मात्रै अघि बढ्न सकिने अवस्था छ ।’

यस्तो छन् उनका भावी योजना
आइजिपी भएपछि पहिलोपटक बिहीबार पत्रकार सम्मेलन आयोजना गरेका खनालले आफ्नो कामको भावी योजना पनि सार्वजनिक गरे । उनले ४ वटा वाटर किन्ने र सबै प्रदेशमा चालकलाई रिफ्रेसिङ सेन्टर स्थापना गर्न लागिएको योजना सुनाए ।

प्रहरी महानिरीक्षक खनालले आफूले मुलुकको शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे । उनले नेपाल प्रहरीलाई संघीय ढाँचाअनुसार अघि बढाउन प्रहरी प्रधान कार्यालयले आवश्यक कानुनको ड्राफ्ट निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको पनि बताए ।

उनले नेपाल प्रहरीले जनताको सुरक्षाका लागि नै कानुन र ऐन निर्माणको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारे ।

‘साइबर क्राइम’ नियन्त्रण
खनालले ‘साइबर क्राइम’ नियन्त्रणका लागि कडा कदम चाल्ने चेतावनी पनि दिएको बताए । ‘साइबर क्राइम’ ठूलो सामाजिक समस्याको रुपमा देखिएको उनको भनाई छ ।

उनले बढ्दो साइबर क्राइमलाई नियन्त्रण गर्न कडा कदम चाल्ने चेतावनी दिए । उनले साइबर क्राइम अन्त्यका लागि साथ दिन सञ्चारकर्मीहरुलाई पनि आग्रह गरे ।

प्रहरी महानिरीक्षक खनालले लागुऔषध नियन्त्रणको कामलाई प्रहरीले विशेष कार्यक्रमको रुपमा अघि बढाएको बताए ।

सरुवा बढुवाको बचाउँ
प्रहरी महानिरीक्षक खनालले प्रहरी अधिकारीको सरुवा र बढुवाको बचाउ गरे । विवादास्पद प्रहरी अधिकारीहरुलाई अग्रसूचीमा राखेर बढुवा गरेको आरोपको खण्डन पनि गरे ।

सरुवामा पनि विगत कारबाहीमा परेकाहरुलाई जिल्ला इन्चार्जमा पठाइएको आलोचना भइरहेका बेला खनालले क्षमताकै आधारमा सरुवा बढुवा गरिएको जिकिर गरे ।

‘यो कुरा आउँछ भन्ने आँकलन पहिले नै थियो मलाई । एसपी बढुवामा सिट २८ अनि एउटै ब्याचमा धेरै थिए । धेरै पटकको छलफलबाट निर्णय लिइएको हो’ उनले भने, ‘जसको नाम बढुवामा पछि पर्यो भनिएको छ, उनीहरुले त मलाई भेटेर बढुवा गरेकोमा धन्यवाद दिएका छन्, कसरी असन्तुष्ट भए थाहा छैन ।’

सरुवामा पनि १/२ व्यक्तिलाई चाँहि आफूले नपठाउन पाए पनि हुन्थ्यो भन्ने लागेको उनले बताए । ‘हेटौंडाको एसपीलाई त फिर्ता बोलाइसकेको छ,’ उनले भने, ‘अरु पनि नराम्रो गर्नेहरु तानिन्छन् ।’

प्रतिकृया दिनुहोस