संघीयता विरोधी चित्रबहादुर केसी की केपी ओली ?

Gagan thapa

काठमाडौं । अहिलेसम्म संघीयता विरोधी नेता भनेर चित्रबहादुर केसीलाई चिनिन्छ । उनको पार्टी राष्ट्रिय जनमोर्चाले बाहेक अन्य पार्टीले संघीयताको विरोध गर्न सकेका छैनन् ।

तर प्रधानमन्त्री केपीशर्मा ओली चित्रबहादुर केसी भन्दा बढी संघीयता विरोधी भएको आरोप लागेको छ । यो आरोप अरुले नभई युवा नेता गगन थापाले लगाएका हुन् ।

‘माननीय चित्रबहादुर केसी जहिले पनि आएर यहाँ संघीयता खराब भो भनेर भन्नुहुन्थ्यो’ सांसद थापाले संसदमा भने, ‘अहिले सम्मानीय प्रधानमन्त्री ज्यु नै संघीयता कार्यान्वयन नहोस् पक्षमा उभिनु भएको छ ।’

आफुले ओलीलाई यहाँको घरमा भेट्दा केसीले संघीयतालाई जति नरुचाउनुहुन्थ्यो त्योभन्दा बढी ओलीले नरुचाएको कुरा उहाँसँगको संवादबाट आफुले थाहा पाएको बताए । ‘नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले संघीयता गलत भन्न पाउनुहुन्छ’ उनले भने, ‘तर, आज सम्माननीय प्रधानमन्त्रीले संघीयता असफल भन्न पाउनुहुन्न । सम्माननीय प्रधानमन्त्रीले यसको खिलापमा उभिन पाउनुहुन्न ।’

थापाले सरकार संघीयता विरोधी भए पनि संघीयता र संविधान रक्षाका लागि संसद प्रतिबद्ध रहेको प्रष्ट पारे । ‘संघीयता विरोधीको प्रतिरोध संसदबाट हुन्छ । संघीयता र संविधानको रक्षा गर्न यो संसद प्रतिबद्ध छ’ उनले भने, ‘सरकार खिलापमा उभियो, सत्तारुढ दलले संघीयता चल्दैन भन्ने ठान्यो भने पनि हामी संघीयताको पक्षमा उभिन्छौँ ।’

सार्वजनिक महत्वको प्रस्ताव ल्याएर संघीयता असफल छ भन्ने कुराको साक्षी सांसदलाई बनाउन खोजेको उनको आरेप छ । ‘आज प्रधानमन्त्रीज्यू सिंगो सरकार र सिंगो पार्टी संघीयता चल्दै चल्दैन, प्रदेश र स्थानीय निकाय काम नलाग्ने भए भनेर उभिदै गर्दा संसदलाई साक्षी राख्न खोजिएको हो भने क्षमा गर्नुहोला, यो संसद संघीयता र संविधान विरोधी वृत्तको साक्षी बस्न सक्दैन’ उनले भने ।

प्रतिकृया दिनुहोस