कार किन्दा ऋण दिने बैंकले भैंसी किन्न किन नदिने ?

Krisi sachib jyu

काठमाडौं । यतिवेला बैंकहरुले भनेको बेला ग्राहकलाई ऋण प्रवाह गर्दैनन् । तर ठूला कम्पनी चलाउन र कार किन्न भने तुरुन्तै ऋण प्रवाह गर्छन् । यसको सरकारी अधिकारीले नै कडा आलोचना गरेका छन् ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले बैंकहरुले कार किन्दा सुलभ रुपमा ऋण दिने गरेको तर किसानलाई भैंसी किन्दा ऋण नदिने गरेकोमा कडा आलोचना गरे ।

‘बैंकहरुले कार किन्दा ऋण दिन्छन् तर भैंसी किन्दा दिँदैन’, उनले भने, ‘यसले किसानलाई प्रोत्साहन गरेन, अहिले यस बारेमा व्यापक जनगुनासो छ, अर्थमन्त्रालयले अब बैंकहरुलाई म्याण्डेटरी बनाउनुपर्छ ।’

बिहीबार रिपोर्टर्स क्लबले गरेका कार्यक्रममा सचिव जिसीले ५ वर्षमा अहिलेको कृषि उत्पादनलाई दोब्बर बनाउने र आगामी २ देखि ३ वर्षभित्र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना रहेको बताए ।

‘कृषिले नेपालको अर्थतन्त्रमा धेरै ठूलो योगदान पुर्याएको छ, त्यसमापनि धानको योगदान धेरै छ, कृषिले २९/३० प्रतिशत योगदान अर्थतन्त्रमा पुर्याएको छ, धानको मात्रै २० देखि २१ प्रतिशत योगदान छ’ उनले भने, ‘कृषकहरुलाई अनुदान दिँदा अब भौचर प्रणाली अन्त्य गरेर ‘स्मार्ट कार्ड’मार्फत उपलब्ध गराउने तयारी भइरहेको छ ।’

१५ औं राष्ट्रिय धान दिवस काठमाडौंको दक्षिणकालीमा मनाउन लागिएको पनि बताए । उनले देशैभरि धान दिवस मनाउने र काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा दक्षिणकालीमा मनाइने बताए ।

प्रतिकृया दिनुहोस