पहिलोपटक आयो एनएसीको ‘अन्नपूर्ण’ वाइडबडी

Annapurna

काठमाडौं । त्रिभुवन विमानस्थलमा नयाँ वाइडबडी विमान ‘अन्नपुण’ अवतरण गरेको छ । नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलोपटक वाइडबडी विमान नेपाल भित्र्याएको हो । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले पूजाआजा गरी स्वागत गरेका थिए । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।

नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन् । प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम छ जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेर्न सकिनेछ ।

यो विमान लिन नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, निगमका कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ र दुई जना नेपाली पाइलट फ्रान्स पुगेका थिए । तर, यो विमानलाई दुई जना विदेशी पाइलटले उडाएर ८ घण्टाको यात्रा तय गर्दै काठमाडौं ल्याइपुर्‍याइदिएका हुन् ।

फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

यो विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

निगमले सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई वाइड बडी विमान खरिद गर्ने निर्णय गरेको थियो । अर्को वाइड बडी विमान पनि एक महिनाभित्रै आइपुग्ने कंशाकारले बताए ।

नयाँ विमान आएपछि फेरि निगमले आफ्नो बिजनेश बढाउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस