कोरिया रोजगारी : ८८ को मृत्यु, १९ को आत्महत्या

Eps exam

काठमाडौं । रोजगारीका लागि कोरिया पुग्ने नेपालीमध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ ।

पछिल्लो एक दशकमा ८८ जनाको मृत्यु भएको र १९ जनाले आत्महत्या गरेको रोजगार अनुमति प्रणाली (ईपीए) शाखाले जनाएको छ ।

ईपीएस शाखामा अनुसार सन् २०१८ को जुन महिनासम्ममा मात्रै रोजगारीका लागि कोरिया पुगेका ६ कामदारले ज्यान गुमाइसकेका छन्, जसमा एक जना कामदारले आत्महत्या गरेको शाखाको रिर्पोटमा उल्लेख छ ।

एक जनाको स्वाभाविक मृत्यु भएको थियो भने दुई जनाको सुतेको अवस्थामा र दुई जनाको कार्यस्थल दुर्घटनामा परी ज्यान गएको ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए।

नेपाल र कोरिया सरकारकार बीच सन् २००७ मा भएको दुई पक्षीय श्रम सम्झौतापछि सन् २००८ देखि ईपीएस भाषा परीक्षा पास गरेर नेपाली कोरियाको रोजगारीमा जाने थालेका हुन् ।

यसअघि सन् १९८० देखि नेपालबाट रोजगारी र विभिन्न व्यक्तिगत कामका लागि नेपाली कोरिया जाने गरेका थिए । दश वर्षकै अवधिमा नेपालबाट ६० हजारभन्दा बढी युवा रोजगारीको सिलसिलामा कोरिया पुगिसकेका छन् ।

दश वर्षकै अवधिमा कोरियामा १९ जना नेपालीले आत्महत्या गरिसकेका छन् । यसैगरी सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या १५, कार्यस्थल दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने १२ रहेको शाखाले जनाएको छ । यसबाहेकको मृत्यु भने स्वभाविक, हत्या, सडक दुर्घटना र कारण नखुलेको रहेको छ ।

शाखाका अनुसार सन् २०१७ मा सबैभन्दा बढी २२ जनाले ज्यान गुमाएका थिए, जसमा ८ जना आत्महत्या, पाँच जना सुतेको अवस्थामा र पाँच जनाले कार्यस्थल दुर्घटनामा ज्यान गएको हो।

यसैगरी २०१६ मा ११, २०१५ मा १५, २०१४ मा तीन, २०१३ मा १३, र २०१२ मा ७ जनाको ज्यान गएको ईपीएस शाखाले जनाएको छ । त्यसभन्दा अघि सन् २००८ देखि २०११ सम्म चार वर्षको अवधिमा ज्यान गुमाउनेको संख्या ११ रहेको थियो ।

शाखाको रिपोर्टअनुसार आत्महत्या गर्नेको संख्या सन् २०१७ मा आठ, २०१६ मा तीन, सन् २०१५ मा एक, २०१३ मा दुई र २०१२ मा चार रहेको छ । सन् २००८ देखि २०११ को अवधिमा भने नेपाली कामदारले आत्महत्या गरेका थिएनन् । अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस