सिंहको सटगनसहित १ सय ३६ राउण्ड गोली खोसियो

Sat gun

काठमाडौं । प्रहरीले लाइसेन्स प्राप्त हतियारको आडमा गुन्डागर्दी चलाउँदै आएका महेशबहादुर सिंहसँग रहेको हतियार खोसेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सिंहको साथमा रहेका १२ बोरको दुई वटा सटगन, ४ वटा २२ बोरको राइफल र ती हतियारमा लाग्ने १ सय ३६ राउण्ड गोली बरामद गरेको छ ।

लाइसेन्स प्राप्त हतियारको आडमा आपराधिक क्रियाकलाप गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं र ललितपुरबाट लाइसेन्स रद्द गरी सिंहको हतियार खोसिएको हो ।

हेटौंडा स्थायी घर भइ हाल ललितपुर–१३, भनिमण्डल बस्दै आएका महेशबहादुर सिंह मिटर ब्याज नाइकेको रुपमा चिनिन्छन् । प्रहरीको रेकर्डमा उनी अपहरण तथा शरीर बन्धक, वन्यजन्तुको अवैध चोरी चिकासी, ठगी र बैंकिङ कसुरका पुरानै अभियुक्त हुन् ।

०७२ सालमा अपराध महाशाखाको टोलीले उनको घरमा संरक्षित वन्यजन्तुको हाड र छाला भेट्टाएको थियो । त्यतिबेलै उनी अपहरण काण्डमा पनि मुछिएका थिए ।

महाशाखाका अनुसार हातहतियार तथा खरखजाना ऐन, २०१९ बमोजिम इजाजत लिए पनि सर्त उल्लंघन गरेपछि उनको हतियार रद्द गर्न सफारिस गरिएको थियो । उनको उक्त हतियार सरकारी कोषमा दालिखा गरिएको छ ।

प्रतिकृया दिनुहोस