धनकुटा सुन्दर बनाउँ अभियानमा सक्रिय बने बराल

Thakur baral

धनकुटा । सानो कामले पनि ठूलो महत्व राख्दछ भन्ने उदाहरण बनेका छन् धनकुटा बहुमुखी क्याम्पसका सेवा निवृत्त उप–प्राध्यापक ठाकुरप्रसाद बराल । उनको कामले काम गर्नलाई कुनै पदमा बसिरहनु पर्दैन भन्ने प्रमाणित गरेको छ ।

उप–प्राध्यापक बरालले ‘धनकुटालाई सुन्दर बनाउँ’ भन्ने एकल कार्यक्रम राखेर २ वर्षदेखि धनकुटाको सल्लेरीदेखि कचिंडेसम्मको सडक एक्लैले सफा गर्दै आएका छन् । यसै वर्षको जेठदेखि आँखा अस्पतालदेखि कचिंडे चोकसम्मको सडकका बुट्टा आफैं सफा गर्दै आएका छन् । उनले सो सडकमा चाँप, राजवृक्ष, इन्द्र कमल, कल्की, पारिजात, गुलमोहर, जकाराण्डा, कामिनी, चुवा, फूल अशोक, सीता अशोक, रातकी रानी लगायतका विभिन्न प्रजातिका ७० भन्दा बढी फुलका विरुवा पनि रोपेका छन् ।

उनले धनकुटाको सौन्दर्य वढ्ने र वातावरणमा अनुकूल असर पर्ने र आन्तरिक पर्यटनमा बढावा मिल्नेछ भनेर सफाई अभियान सुरु गरेका थिए । सुरुमा उनले एक्लैले विरुवा किनेर रोप्दै आएकोमा अहिले उनले थालेको कार्यको प्रशंसा गर्दै अन्यले पनि फलफुलका विरुवा किनेर दिन थालेका छन् ।

बिगेन्द्र याखा, नगेन्द्र राई, वेणु बस्नेत, मिलन खड्गी, राजेश्वरबहादुर श्रेष्ठ, रामहरि सुवेदी, पुरुषोत्तम अर्याल, भीमराज अधिकारी, तोया भण्डारी र उद्धव कटुवालले विरुवा दिएका छन् भने मिलन खड्गी, पुरुषोत्तम अर्याल, वेणु बस्नेत र रुद्र मगरले गोडमेलमा सहयोग गरिहेको बराल बताउँछन् ।

यसरी सकड किनारमा विरुवा रोप्दा प्राकृतिक रुपमा नगरलाई सुन्दर, प्राकृतिक छटायुक्त र हरियालीपूर्ण बनाउन सहयोग पुग्नेछ । कुनै संघ संस्थाको सहयोग बिना एकल अभियानका रुपमा थालिएको यस्तो कार्य उदाहरणीय भएको र यसबाट हामी सबैले सिक्नुपर्ने धनकुटा नगरपालिका –६ का वडाध्यक्ष नरेश श्रेष्ठले बताउँछन् ।

उनले धनकुटा क्याम्पस्मा कार्यरत रहँदा पनि उनकै अगुवाईमा क्याम्पस परिसरमा रोपिएका रुद्राक्ष, अम्लिसो, आँप, अमला, एभोकार्डाे जातका बोट विरुवाहरु रोपिएका थिए । उनकै पहलमा रोपिएको गुलाफको फूलवारीले अहिले धनकुटा बहुमुखी क्याम्पसका लागि आयश्रोत माध्यम बनेको छ भने क्याम्पस सौन्दर्यलाई पनि बढाएको छ ।

राजधानी नहुँदा धनकुटा सकियो भनेर गुनासो गरिरहनुभन्दा राजधानी भए पनि नभए पनि धनकुटा घुम्न लायकको ठाउँ हो भन्ने बनाउन यो कार्यले सहयोग पुग्ने उप–प्राध्यापक बराल बताउँछन् ।

प्रतिकृया दिनुहोस