सभापतिहरुको ‘ह्याङ’ले तनावमा परे देउवा

Sher bdr deuba

काठमाडौं । एक वर्षको अवधीमा पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नराम्ररी पराजय भोगेपछि सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसभित्र निक्कै अफ्ठेरोमा पनि परेका छन् ।

जिल्ला सभापतिहरुको भेलामा सभापति देउवाको चर्को आलोचना भएको थियो । त्यति मात्रै होइन, महामन्त्री शशांक कोइराला समूहसमेत देउवाको विरोधमा उत्रिएपछि उनी थप तनावमा परेका छन् ।

पौडेल समूह, कोइराला समूह र युवा नेता पक्षधरहरुले भेलामा नेतृत्वका कारण नै कांग्रेस आजको अवस्थामा पुगेको भन्दै सभापति देउवाको चर्को आलोचना गरेका थिए । त्यसको तनाव देउवालाई छ ।

शुक्रबार सम्पन्न नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले निक्कै थकित बनाएको छ । जिल्ला सभापति तथा केन्द्रिय सदस्यहरुको आलोचना, पार्टीभित्र देखापरेको संघर्ष र अन्य कारणले पनि देउवाको निद हराम भएको छ । त्यही भएर आराम गर्न सौरहा पुगेका छन् ।

हेटौंडामा सम्पन्न जिल्ला सभापतिहरुको भेला सकेर आराम गर्न शुक्रबार पर्यटकीय नगरी सौरहा पुगेका देउवाले अहिले कुनै पनि कार्यकर्तासँग भेट गरेका छैनन् । उनी होटल सेभेनस्टारमा बसिरहेका छन् ।

‘उहाँ अहिले पूर्ण रुपमा आराम गर्दै हुनुहन्छ, कसैसँग भेटघाट गर्ने कार्यक्रम छैन’, देउवाका निजी सचिव भानु देउवाले भने ‘यहाँका कार्यकर्ताहरुले भेट्न खोज्दा अहिले नभेट्ने भन्नु भएका कारण कसैसँग भेट पनि भएको छैन ।’

प्रतिकृया दिनुहोस