उपभोक्ता ठगी गर्ने सात जना व्यापारी पक्राउ

Arrest

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्तामाथि खेलवाड गरेर ठगी गर्नेहरु जो कोहीलाई नछोड्ने चेतावनी दिएका छन् ।

मन्त्रालय अन्तर्गतको विभागले आज गरेको बजार अनुगमन पछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै मन्त्री यादवले जनताप्रति उत्तरदायी सरकार भएकाले जनतालाई अहित हुने काम कही कतै बाट हुन नदिने बताए । उनले ठुला ठुला सपिङ मलमा पनि अनुगमन गरिने र त्रुटी फेला परे अपराधको प्रकृति हेरेर कारवाही गरिने बताए ।

विभागले व्यापारीहरु पक्राउ गरेर ल्याएपछि त्यसबारे बुझ्न विभाग पुगेका मन्त्री आफै पनि ठुला सपिङ मलमा अनुगमन नभएको प्रति असन्तुष्ट देखिएका थिए । अनुगमनका क्रममा विभागले काठमाडौं र ललितपुरका सात जना किराना व्यापारीलाई नियन्त्रणमा लिएको छ ।

टोलीले भाट भटेनी सुपर मार्केट कलंकी, पञ्चस्टोर बालकुमारी, देव स्टोर घट्टेकुलो, शान्ति नगर सपिङ सेन्टर, कार्की स्टोर जोरपाटी, शिव ज्योति टे«डर्स कालिमाटी लगायत २५ वटा थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो ।

मन्त्रालयको निर्देशन अनुसार विभागबाट खटिएको विशेष अनुगमन टोलीले अनुगमनका क्रममा कैफियत देखिएपछि क्रममा ति व्यापारीलाई नियन्त्रणमा लिएको हो । मुल्य सूची नभएको, सामानमा अधिकतम खुद्रा मुल्य उल्लेख नभएको र ठुलो मात्रामा म्याद गुज्रेका सामान फेला परेपछि टोलीले बालकुमारीका तीन ठुला गोदाममा सिलबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

बालकुमारीस्थित बंगालामुखी ट्रेडर्स, तिमिल्सिना किराना खाद्य स्टोर, पञ्च स्टोरलाई सिल गरी सञ्चालकलाई नियन्त्रणमा लिईएको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस