मलेसियामा ७ हजार कामदारको ‘डिमाण्ड’ गुग्ने खतरा

Malesiya kamdar

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार पठाउन रोक लगाएपछि मलेसिया जाने अन्तिम तयारीमा रहेकाहरु अन्योलमा परेका छन् ।

सरकारले गत जेठ २५ गते मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्दै आएका विभिन्न संघसंस्था खारेज गर्ने निर्णय गरेसँगै त्यहाँ जाने कामदारको श्रम स्वीकृति रोकिएको हो ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने तयारीमा रहेका साढे ३ हजारभन्दा बढीको भिसा प्रक्रिया अन्योलमा परेको छ । विभिन्न व्यवसायीले मलेसियाका रोजगारदाता कम्पनीबाट ल्याएको ५ देखि ७ हजार माग पनि गुम्ने खतरा रहेको छ ।

भिसा प्रक्रिया रोकिँदा मलेसिया कामदार पठाउँदै आएका ४ सयभन्दा बढी मेनपावर कम्पनी प्रभावित भएका छन् । सबै प्रक्रिया पूरा भएर उड्ने तयारीमा रहेका झण्डै ३ हजार ५ सयभन्दा बढी कामदार मलेसिया जानबाट वञ्चित भएको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।

बैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बिमल ढकालले मन्त्रीको वैदेशिक रोजगार क्षेत्रमा रहेका सिन्डिकेट हटाउने निर्णय सही भए पनि प्रक्रिया गलत भएको बताउँछन् । ‘मलेसियन सरकारले पुरानो प्रक्रिया नै यथावत भनेको अवस्थामा नेपाल सरकारले एकलौटी अडान राख्दा कतै नेपाल र मलेसियन सरकारबीच सम्बन्ध बिग्रने त होईन’ उनले प्रश्न गरे ।

नेपाली कामदार मलेसिया जाने प्रक्रिया नै रोकिएपछि कुटनीतिक पहलबाट समस्याको समाधान निकाल्नुपर्नेमा श्रम मन्त्रालयले कुटनीतिक पहल नै नगरेको उनको आरोप छ ।

तर, सरकारले मलेसियामा कामदार पठाउने विषयमा परराष्ट्र मन्त्रालय र कूटनीतिक नियोगमार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको छ । तथापि मलेसियाको श्रम स्वीकृति केही समय रोकिने श्रम कार्यालय ताहचालका प्रमुख भगीश्वर पाण्डेले बताउँछन् ।

नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकभित्र मलेसिया पर्छ । गत महिना करिब १२ हजार नेपाली रोजगारीका लागि मलेसिया पुगेका छन् । आर्थिक वर्ष २०७४/०७५ को ११ महिनामा रोजगारीको खोजीमा १ लाख ६० हजार नेपाली युवा मलेसिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस