सुजाता भन्छिन्, देउवा नेतृत्व असफल भयो, अब सक्षम नेतृत्व ल्याउनुपर्छ

Sujata koirala

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाएकी छन् ।

नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएकाले अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइन् । उनले चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा नदिए पनि पराजयको जिम्मेवारी बहन देउवाले नै गर्नुपर्ने बताइन् ।

महासमितिको बैठक बसेर कांग्रेसको आगामी यात्रा तय गर्नुपर्नेमा उनले जोड दिएकी छन् । महासमितिको बैठकको भावनाअनुसार नेतृत्व चल्न तयार हुनुपर्नेमा उनले सचेत गराइन् ।संसदमा प्रतिपक्षीको भूमिका पनि कांग्रेसले प्रभावकारी रुपमा निभाउन नसकेको उनको आरोप थियो ।

‘पद् छोड्नै पर्छ भन्ने छैन्, पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्नुपर्छ’ सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘गिरिजाले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, अहिलेको नेतृत्वले त्यसो गर्न सकेन ।’

पार्टीको नीति, सिद्धान्त र विचाभन्दा बाहिर जान खोज्नेलाई नेतृत्व दिन नहुने उनको तर्क थियो । सबै एकजुट भएर पार्टी सुधारतर्फ केन्द्रित हुन सके उपलब्धि हासिल हुनेमा आफू विश्वस्त रहेको नेतृ कोइरालाले बताइन् ।

पछिल्लो समय कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको उनको आरोप छ । उनले सक्षम र राम्रा मान्छेलाई भन्दा आफ्ना मान्छेलाई काखी च्याप्ने गरेको पनि गुनासो गरिन् ।

प्रतिकृया दिनुहोस