काठमाडौंको होटल अन्नपुर्ण क्यासिनोमा तनाव

Hotel anpurna

काठमाडौं । अन्नपुर्ण होटलको क्यासिनोमा काम गर्ने पुराना मजदुरहरु सेवा सुविधाको माग गर्दै आन्दोलित भएका छन् ।

होटल अन्नपुर्णले पुरानो अन्ना क्यासिनो सर्बोच्चको आदेशपछि बन्द गरेकोमा नयाँ नाममा क्यासिनो सञ्चालन गरेको तर, मजदुरहरुलाई सेवा सुविधाबाट बञ्चित गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

चार वर्ष अगाडि बन्द भएको क्यासिनो भिन्न नाममा अनुमति लिएर सञ्चालनमा आएसँगै पुराना मजदुर कर्मचारी आन्दोलित भएका हुन् । सर्वोच्च अदालतले जेठ १४ गते नयाँ नाममा क्यासिनो खुले पनि पुरानो अन्ना क्यासिनोमा कार्यरत इच्छुक कर्मचारीलाई काममा फर्काउन र काम गर्न नचाहने कर्मचारीलाई नियमसंगत सेवा सुविधा दिन अन्तरिम आदेश दिएको थियो ।

सोही आदेशलाई आधार बनाउदै क्यासिनो प्यालेस पुगेका कर्मचारीको माग व्यवस्थापनले नसुनेपछि उनीहरु आक्रोशित बनेका हुन् । क्यासिनो प्यालेस सञ्चालनमा आएको तीन महिना भईसक्दा पनि काममा नफर्काएपछि कर्मचारीले कानुनी उपचार खोजेका थिए ।

राजश्व नतिरेको भन्दै तात्कालिन सरकारले २०७१ बैशाख ७ गते अन्ना क्यासिनो बन्द गराएको थियो । त्यसपछि क्यासिनो अन्नाका संञ्चालक तप्तबहादुर विष्ट र कल्पदीप राईले राजश्व तिर्नुको सट्टा फरक व्यक्ति सञ्चालक रहने गरि क्यासिनो प्यालेसको नाममा अनुमति लिएर क्यासिनो संञ्चालन गरेको दाबी कर्मचारीले गरेका छन् । नयाँ नामलाई आधार बनाई क्यासिनो सञ्चालकहरु कर्मचारीलाई सेवा सुविधा दिनुपर्ने दायित्वबाट पन्छिन खोजेको दाबी उनीहरुले गरेका छन् ।

पर्यटन मन्त्रालयले आर्थिक प्रलोभनमा परि समान प्रकृतिको मल्ल होटललाई क्यासिनो संञ्चालनमा रोकेर अन्नपुर्णको अन्ना क्यासिनोलाई क्यासिनो प्यालेसको नाममा अनुमति दिएको दाबी कर्मचारीले गरेका छन् । तात्कालिन पर्यटनमन्त्री जितेन्द्र देवको समयमा होटल अन्नपुर्णलाई क्यासिनो प्यालेस संञ्चालनको अनुमति दिईएको थियो ।

क्यासिनो अन्नाका पुराना मजदुर कर्मचारीले इच्छुक पुराना कामदारलाई काम दिन, २२ बर्ष काम गरेकालाई श्रम ऐनले तोकेको सेवा सुविधा उपलब्ध गराउन माग गर्दै आएका छन् । सोही माग गर्दै ९ सय २२ जना पुराना मजदुर कर्मचारीले सर्वोच्चमा मुद्धा दायर गरेका थिए । अहिलेसम्म ७ जनाले आत्महत्या गरिसकेको उनीहरुको दाबी छ ।

प्रतिकृया दिनुहोस