पूर्वराजा ज्ञानेन्द्रले नारायाणहिटी छोडेको १० वर्ष : कष्टकालीन छट्पटाहट

Gyanendra shah speaking

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाडेको आज ठीक १० वर्ष पूरा भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले २०६५ जेठ २९ गते बेलुकी ५ बजे नारायणहिटी छाडेका थिए । सोही दिन २ सय ४० वर्ष लामो शाहकालको अन्त्य भएको थियो ।

२०६५ जेठ १५ मा बसेको पहिलो संविधानसभाको बैठकले नेपाललाई गणतन्त्र घोषणा गर्दै तत्कालीन राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबार छाड्न १५ दिनको म्याद दिएको थियो । त्यसको १४ दिनपछि उनी सरकारले उपलब्ध गराएको नागार्जुन दरबार सरेका थिए ।

नारायणहिटी दरबार छाड्नुअघि पत्रकार सम्मेलन गरी पूर्वराजा ज्ञानेन्द्रले ‘हामी नेपालीका महान् पूर्वजहरूको रगत, पसिना र बलिदानले बनेको स्वतन्त्र र सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताका निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहे पनि सदा समर्पित रहने प्रण गर्दछु’ भनेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाडेको दिन देशभर उत्साह छायो । नेपालीले दिपावली मनाए । तर, पूर्वराजाका भने आँखाभरी आसु थियो । पत्रकार सम्मेलनमा उनी निक्कै भावुक बनेका थिए ।

सरकारले उनलाई नागार्जुनमा बस्ने व्यवस्था मिलायो । नारायणहिटीबाट बाहिरिएपछि करिब १ वर्ष नागार्जुन दरबार बसेका पूर्वराजा १ वर्षलगत्तै निर्मल निवास फर्किए ।

तर, उनी सरकारले उपलब्ध गराएको नागार्जुन दरबारमा पूर्वराजाले ३ वर्षदेखि आक्कल झुक्कलबाहेक नियमित बस्ने गरी नागार्जुन दरवार गएका छैनन् ।

२०७२ को शक्तिशाली भूकम्पबाट क्षति भएको नागार्जुन दरबारमा अहिले पूर्वराजाका केही सामग्री मात्रै छन् । सशस्त्र प्रहरीको सुरक्षा घेराभित्र रहेको सो दरबारमा सबै ऋतुको नाममा छुट्टाछुट्टै बंगला छन् ।

छटपटाहटमा ज्ञानेन्द्र
‘विनासकालीन विपरित बुद्धि’ भनेझै ज्ञानेन्द्र आफ्नै कारणले २ सय ४० वर्षको शाहकालीन इतिहास स्वाह भएको थियो ।

छदाँछदैको राजगद्दी त्याग्नु परेपछि पूर्व राजा ज्ञानेन्द्र निक्कै छटपटाएका थिए । त्यसमा पनि तत्कालीन युवराज पारस र हिमानीबीच भएको असझदारीले उनी निक्कै मर्माहत बने ।

सत्ताबाहिर बसेपछि उनी बेलाबखत चर्चामा भने आइरहे । बेलाबखत निकालिने विज्ञप्तीमा उनले सधैं देशको चिन्ता गरे । तर, उनीमा कहिले पछूतो लागेको पाइएन । विभिन्न मन्दिरहरु धाइरहे । नेपालमा मात्रै होइन, विदेशका धार्मिक यात्रा पनि उत्तिकै गरे ।

उनले राजावादीसँग पटक–पटक गरेको छलफल र देश दौडाहाका क्रममा आफूसँग भेट्न आउनेहरूलाई हिन्दू धर्म र संवैधानिक राजतन्त्रको पक्षमा अघि बढ्न अपिल गर्ने गर्छन् । यसको अर्थ उनी फेरि शक्तिमा आउन खोजिरहेका छन् ।

के गर्दैछन् पूर्वराजाका समर्थकहरु ?
पूर्वराजा ज्ञानेन्द्रले सत्ता छाडेको १० वर्ष भइसक्यो । नारायणहिटी दरबार छाडेको पनि १० वर्ष भयो । यो बीचमा बेलाबखत उनका समर्थकहरु सल्बलाउने गरेका छन् ।

आफु सत्ताबाहिर रहेपछि उनले विभिन्न राजनीतिक पार्टीमार्फत आफ्ना गुनासो पोख्न लगाउने गरेका छन् । उनले विभिन्न राजनीतिक दलहरुलाई भित्री रुपमा लगानी पनि गर्दै आएका छन् । तर, उनको लगानी अहिलेसम्म ‘बालुवामा पानी’ खन्याएझै भएको छ ।

उनको समर्थनमा मात्रै झण्डै ८ वटा भन्दा बढी पार्टी छन् । तीमध्ये राप्रपा नामधारी मात्रै ४ वटा छन् । यीमध्ये एउटा एक महिनाअघि मात्रै गठन भएको छ । बाँकी ३ वटाको नेतृत्व पशुपति समशेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले गर्दै आएका छन् । त्योबाहेक शिवसेना नेपालले पनि राजतन्त्रको वकालत गर्दै आएको छ ।

केही समयअघि पूर्वराजाले आफ्नो मुद्दा बोकेका तीन वटा राप्रपाका दोस्रो तहका नेतासँग भेटेर राजनीतिक सक्रियता देखाएका छन् । नेताहरूसँगको भेटमा पूर्वराजाले फुटेका राप्रपालाई मिलेर अघि बढ्न सुझाव दिएका थिए । राजनीतिक अवस्थाबाट विरक्तिएका पूर्वराजाले भित्रभित्रै अन्य विभिन्न पार्टीसँग आन्तरिक छलफल गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस