सुन तस्कर गोरेसहित ३ जनाको सम्पत्ति अनुसन्धान सुरु

Gore 29

काठमाडौँ । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानवीन सुरु गरेको छ।

विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानवीन अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए। उनले त्यसक्रममा सुन तस्करीमा संलग्न जोकोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने बताए। विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानवीनको क्रममा सफाईको मौका समेत दिने तयारी गरेको छ।

अभियुक्तहरुलाई आवश्यक्ता अनुसार विभागमा झिकाएर सफाईको मौका दिइने प्रवक्ता लामिछानेले जानकारी दिए। विभागले सम्पत्ति छानवीन अनुसन्धानका क्रममा अभियुक्तहरु गोरे, भुजुङ र छिरिङविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाणलाई पनि आधार बनाउने स्पष्ट पारेको छ। गैरकानुनी ढंगबाट आर्जन गरिएको सम्पत्ति छानवीनका लागि विभागले सम्वद्ध पक्ष सबैसँग संलग्न रहेर अनुसन्धान प्रक्रियालाई अघि बढाउने पनि प्रवक्ता लामिछानेले बताए।

उनले अनुसन्धानका क्रममा सो कार्यमा संलग्न समूहलाई नै अनुसन्धानको दायरामा ल्याउन सकिने जनाए। विभागले सोमबार मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित ३ जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि झिकाएको थियो। पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन्।

२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी ।प्रजातान्त्रिकका नेता भुजुङ उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

एउटै चेनमा सुन तस्करी गरेपनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाईनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानवीन समितिको अनुसन्धानबाट खुल्न आएको छ। ३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको हो। सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तहरु हाल केन्द्रीय कारगारमा राखिएका छन्।

प्रतिकृया दिनुहोस