डा. गोविन्द केसी साधारण तारेखमा रिहा

प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश

 drkc

काठमाडौं । सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

साथै डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा राखी अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाड्न आदेश दिएको हो ।

अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले बयानका क्रममा पराजुलीको दुई वटा नागरिकता रहेको र एसएलसी पास भए नभएको विवाद भएको बताएका थिए । उनले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखे ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला अदालतबाट लिएको दुबै नागरिकताको प्रतिलिपि, न्याय परिषद्बाट उमेरबारे भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।

साथै पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन भनिएको आदेशमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस